व्यक्तिगत सम्पतिको प्रचलन भए संगै समाजमा विभिन्न खाले असमानताहरु देखापर्न थाल्यो । त्यो असमानताले समाज दुई भागमा विभाजित भयो । एकातिर हुनेखाने सम्पन्न वर्ग र अर्को तिर हुदा खाने विपन्न वर्ग । त्यो दुई फरक, फरक वर्गहरु बिच वर्गीय स्वार्थको निम्ति संघर्ष हुन् थाल्यो त्यसलाई नै वर्गसंघर्ष नामाकरण गरियो । समाज बिकासका हरेक चरणहरुमा वर्ग संघर्ष तिब्र ढंगले चल्दै आएको देखिन्छ । दास युगमा दास र मालिकहरु बिच ,सामन्तवादी युगमा किसान र सामन्तहरुबिच,पुजिवादी युगमा मजदुर र पुजीपतिहरु बिच चर्को संघर्ष हुदै आएको देखिन्छ । दास युग देखि पुजिवादी युग सम्मको संघर्षमा सधै अग्रगामी शोच ,चेतना र चिन्तन बोकेको उत्पीडित तथा प्रगतिशील वर्गले संघर्षमा जित हासिल गरेको छ , गर्दछ । दास युगमा दासहरु उत्पीडित र प्रगतिशील थिए । सामन्तवादमा किसान र पुजिवादमा मजदुर उत्पीडित र प्रगतिशील पक्ष हुन । दास र मालिक बिचको संघर्षमा दासहरुको जित भयो र दास व्यबस्थाको अन्त्य भयो । किसान र सामन्तहरुको संघर्षमा किसानहरुको जित र सामन्तहरुको हार भयो र सामन्ती व्यवस्था धोस्त भयो । यद्दपि हालका अर्ध सामन्ती अवस्थाका मुलुकहरुमा सामन्तवादको जगजगी कायमै रहेतापनि सामन्तवादको रक्षा कवचको रुपमा चिनिने मध्यकालीन सामन्ती राजतन्त्रको अन्त्य भैसकेको देखिन्छ ।

File:Communist Party of Vietnam flag logo.svg - Wikimedia Commons
शासन परिवर्तन भएपनि सत्ता परिवर्तन भएन भने पुरानो उत्पीडक वर्गनै फेरि नयाँ व्यवस्थाको शासक हुने र पुरानो उत्पीडित वर्ग पुन ः शासित नै हुने स्थिति बन्छ । दास व्यवस्था देखि पुजिवादी व्यवस्था सम्म भएको शासन परिवर्तनमा यहि देखिन्छ । दास ब्यबस्था ढल्यो,सामन्तवाद आयो तर फेरि दास मालिक नै शासक बन्यो दासहरु शासित नै बने । अर्थात पहिलेको मालिक भूमिपति जमिन्दार (सामन्त) बन्यो दासहरु किशान बने । सामन्तवाद ढल्यो ,पुजिवाद आयो तर फेरि सामन्त नै शासक बन्यो किशानहरु फेरि शासित नै बने । अर्थात पहिलेको सामन्त कारखानाको मालिक (पुजीपति) बन्यो किसानहरु मजदुर बने । दास ब्यबस्थामा मालिकको सनकको भरमा दासहरु बस्तु झैँ बेचिन्थे ,गोरु झैँ चुतिन्थे ,मुला झैँ काटिन्थे । सामन्तवादमा किशानहरु दिनभरी सामन्तका खेतमा काम गर्दथे,राती सामन्तले दिएको आधा पेट खाएर बस्थे । पुजिवादमा मजदुरहरु दिनभरी पुजिपतिका कारखानामा काम गर्दछन साँझ सिमित पारिश्रमिक लिएर फर्कन्छन । पटक पटक शासन फेरियो तर शासकवर्ग फेरियन , यसको कारण हो सत्ता नफेरिनु अर्थात पुरानै उत्पीडक शासक वर्गको सत्ता यथावत रहनु ।

नेपालमा कुनैदिन वाईसे ,चौबिसे राजाहरुले शासन गर्दथे त्यसपछि राणाहरु र शाह बंशीय राजाहरुले क्रमश पालैपालो शासन गरे । अहिले सामन्त तथा दलाल र नोकरशाही पुजिपतिवर्गको प्रतिनिधिहरुले आलोपालो शासन गरिरहेकाछन । पटक पटक शासन परिवर्तन भए तर शासकवर्ग परिवर्तन भएन । व्यक्तिगत रुपमा शासकहरु पनि फेरिय तर वर्गीय रुपमा उही पुरानै उत्पीडक वर्गका प्रतिनिधिहरु नै शासक बनिरहे । यसको कारण हो परापुर्वकाल देखि नेपालको सत्ता परिवर्तन नहुनु । उत्पीडक वर्गको सत्ता यथावत रहनु । शोषित ,पिडित, मेहनतकश श्रमजीवीवर्गको सत्ता स्थापना नहुनु ।

सामान्य राजनैतिक परिवर्तन वाट दिक्क भएका कतिपय मान्छेहरुको मुख वाट सुन्ने गरिन्छ राणा देखियो,राजा देखियो कांग्रेस,एमाले ,माओवादी सवै देखियो याहा केहि हुनेवाला छैन । सवै उस्तै हुन । हाम्रो अवस्था उही हो । राजनीतिलाई सामान्य सरकार तथा व्यक्ति परिवर्तनको साधनको रुपमा मात्र बुझ्ने तर सत्ता परिवर्तनको साधनको रुपमा नबुझ्ने मान्छेहरुको तर्क हो यो । ००७ साल देखि ०३६, ०४६ हुदै ०६२ ÷०६३ सम्म आउदा भएका सवै परिवर्तनहरुमा सत्ता परिवर्तन भएको होईन । त्यतिवेला प्रतिक्रियावादी सत्ता अन्तर्गतको सामान्य व्यक्ति र व्यवस्था परिवर्तन भएका मात्र हुन । शासकहरु परिवर्तन भएका हुन तर शासक वर्ग परिवर्तन भएको होईन । सत्ता परिवर्तनमा शासक व्यक्ति होईन शासक वर्ग नै परिवर्तन हुने गर्दछ । पुरानो शासक वर्ग सत्ता च्युत हुन्छ र नया वर्ग सत्तासिन हुन पुग्छ । एउटा सचेत र जवरजस्त क्रान्तिले मात्र सत्ता परिवर्तन हुनसक्छ । नेपालमा अझै क्रान्ति भएका छैनन् । ००७ ,०३६,०४६ र ०६२÷६३ को परिवर्तन एउटा सामान्य राजनैतिक घटना मात्र हुन, क्रान्ति होईन । क्रान्ति हुनको निम्ति सत्ता परिवर्तन हुनुपर्दछ ति राजनैतिक घटनामा सत्ता परिवर्तन भएनन् । सत्ता परिवर्तनको निम्ति भएको महान जनयुद्धको मुख्य नेतृत्वको गद्दारीका कारण नेपाली जनताको सत्ता परिवर्तनको चाहना अधुरो नै रह्यो ।

त्यसकारण उत्पीडित शासित वर्ग शासक वर्गमा रुपान्तरित हुनको निम्ति पहिलो शर्त हो क्रान्ति, अर्थात सत्ता परिवर्तन । तर हजारौ बर्ष पुरानो प्रतिक्रियावादी सत्ताको परिवर्तन सामान्य कुरा होईन । पुरानो प्रतिक्रियावादी सत्ताका मालिकहरुले आफनो शासन सत्ता सहज ढंगले छोड्न चाहदैनन् । त्यसको निम्ति लामो बैचारिक ,राजनैतिक तथा फौजी संघर्षको आवस्यकता पर्दछ । त्यसको निम्ति क्रान्तिकारीहरुले ठुला ठुला त्याग र बलिदान गर्नुपर्दछ । अनिमात्र प्रतिक्रियावादी उत्पीडक वर्गको पुरानो सत्ता ध्वंस गरेर क्रान्तिकारी उत्पीडित श्रमजीवी वर्गको नयाँ सत्ता स्थापना गर्न सकिन्छ । ईतिहासिद्ध कुरा के हो भने लामा,लामा बैचारिक ,राजनैतिक तथा फौजी संघर्ष देखि आत्तिने र ठुला, ठुला त्याग र बलिदान देखि डराउने व्यक्तिहरु बिच बाटो मै विचलित हुने,पलायन हुने र गद्दारी गर्ने गर्दछन ।

हिजो आज कम्युनिस्ट नामका कतिपय पार्टीका नेताहरुले तछाड मछाड गर्दै प्रतिक्रियावादी सत्ताको रक्षा गर्ने कसम खाएको देखिन्छ । उनीहरुको गद्दारी तथा प्रतिकृयावादमा पतनको यो राम्रो उदाहरण हो । यथार्थमा कम्युनिस्ट पार्टीको जन्म प्रतिक्रियावादी उत्पीडक वर्गको सत्तालाई धोस्त गरि क्रान्तिकारी उत्पीडित वर्गको सत्ता स्थापना गर्नको निम्ति भएको हो । कम्युनिस्ट पार्टीको घोषित लक्ष वाट बिचलित भएका तथा कम्युनिस्ट आन्दोलन संग गद्दारी गरेका पार्टी र व्यक्तिहरु कम्युनिस्ट हुन सक्दैनन । यद्दपि कारखानाको मेशिन वाट एकातिर नियमित माल उत्पादन हुने र अर्कोतिर फोहोर पैदा भैरहने गरे जस्तै कम्युनिस्ट पार्टीमा गद्दारी,बिचलन र पलायनका घटनाहरु पनि अस्वाभाविक होईनन । तथापि पार्टी र आम कम्युनिस्ट क्रान्तिकारीहरुको चाहना यस्ता घटनाहरु कम भन्दा कम होस् भन्ने नै हो ।

गद्दारी,बिचलन र पलायन वाट माथि उठाउदै आफुलाई क्रान्ति पछिको नया सत्ता र नया समाज सम्म पु –याउनको निम्ति कुनैपनि क्रान्तिकारीको लागि पहिलो शर्त हो क्रान्तिकारी पार्टी निर्माण गर्नु । क्रान्तिकारी पार्टी निर्माणको पहिलो शर्त हो क्रान्तिकारीहरुले आफुलाई पार्टीकरण गर्नु । वास्तवमा सवै क्रान्तिकारीहरुले आफुलाई पार्टीकरण गरेर मात्र क्रान्तिकारी पार्टी निर्माण गर्न सकिन्छ । पार्टी सदस्यता प्राप्त गर्नु पनि व्यक्तिले आफुलाई पार्टीकरणको थालनी गर्नु हो । आफुले आफुलाई नै पार्टीकरण गर्ने भनेको आफुलाई पार्टीमा पूर्णतया विलय गर्नु हो । आफुलाई पार्टीमा हराउनु हो । पार्टी बाहेक आफुलाई नदेख्नु ,नभेत्नु ,नपाउनु हो । क्रान्तिकारी पार्टीको नेता,कार्यकर्ताहरुले सिद्दान्त,ब्यबहार ,बिचार ,दृस्टीकोण तथा नीति, विधि ,निर्देशन,योजना र कार्यक्रममा आफुलाई पार्टीकरण गर्नुपर्दछ । क्रान्तिकारी पार्टीले सधै आफ्ना नेता ,कार्यकर्ताहरुको हैसियत अनुसार पार्टीकरणको अपेक्षा गरिरहेको हुन्छ ।

अवस्य क्रान्तिकारी पार्टीको केन्द्रिय सदस्यले आफुलाई सवै भन्दा बढी अर्थात पूर्णरुपले पार्टीकरण गर्नुपर्दछ । परिवार बाहेक क्रान्तिकारी पार्टीको केन्द्रिय सदस्यको निजि चिज केहिपनि हुनु हुदैन । पार्टीको स्वीकृत बिचार ,मत बाहेक सार्वजनिक रुपमा उसको निजि विचार, व्यक्तिगत मत आदि÷ ईत्यादि केहिपनि हुनुहुदैन । केन्द्रिय सदस्यले मात्र होईन क्रान्तिकारी पार्टीका हरेक सदस्यले पार्टीको सिद्दान्त अनुसारको आचरण र ब्यबहार गर्नुपर्दछ । सिद्दान्त बिपरित आचरण र ब्यबहार भयो भने ’काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर ’जस्तो हुन्छ । त्यस्तो भयो भने जनताको नजरमा पार्टी बद्नाम हुन्छ । पार्टी बद्नाम भयो भने क्रान्ति बर्वाद हुन्छ । कुनैपनि राजनैतिक घटनाक्रमलाई हेर्ने दृस्टीकोण र सार्वजनिक रुपमा व्याख्या विश्लेषण गर्ने शैली,तौर तरिका पार्टीको आधिकारिक जोड कोण भन्दा पृथक हुनुहुदैन । आफना हरेक गतिविधि पार्टीको नीति र विधिमा केन्द्रित हुनुपर्दछ । पार्टीको नीति र बिधि भन्दा अलग ठलग भएर गतिबिधि गर्नु पार्टी र क्रान्तिको निम्ति अपराध गर्नु हो । हरेक क्रियाकलाप पार्टीको निर्देशन र योजना अन्तर्गत हुनुपर्दछ । पार्टीको निर्देशन र योजना बिपरित स्वेच्छाचारी ढंगले क्रियापलाप गर्नु अनुशासनहिनता हो ।

क्रान्तिकारी पार्टीको केन्द्रिय सदस्यको पारिवारिक सम्पति देखि हरेक आर्थिक गतिविधिका विवरण पार्टीमा नियमित अपडेट भैरहनु पर्दछ । वुर्जुवा पार्टीमा जस्तो कुनैपनि आयमुलक पेशा ,व्यवसायमा सक्रिय बन्ने छुट उसलाई हुनुहुदैन । उ पूर्णतः पेशेवर क्रान्तिकारी हुनै पर्दछ । त्यस्तै गरि पार्टीका प्रदेश सदस्य, जिल्ला सदस्य ,ईलाका सदस्य तथा वडा सदस्य र सेल सदस्यहरुले पनि आफुलाई क्रमश ७०,६०, ५० ,४० ,३० प्रतिशत पार्टीकरण गर्नुपर्दछ । कसेकम यत्ति भयो भने मात्र क्रान्तिकारी पार्टी निर्माणको आधार तयार हुन्छ । तव मात्र हजारौ वर्ष देखि जरा गाडेर बसेको प्रतिक्रियावादी उत्पीडक वर्गको सत्ता उल्त्याउन योग्य क्रान्तिकारी पार्टी निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर