कार्तिक ८ काठमान्डौ ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव कमरेड मोहन वैद्य ‘किरण’ कार्तिक ७ गते अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । असोज ३१ गतेदेखि ८ दिनसम्मको अस्पत्तालको बसाइमा उहाँको स्वास्थ्य उपचारमा संलग्न डाक्टरहरु, नर्सहरु तथा अन्य कर्मचारी र उहाँको उपचारको प्रक्रियामा अस्पतालमा प्रत्यक्ष उपस्थित भई स्वास्थ्य लाभको कामना गर्ने र सामाजिक सञ्जालको माध्यमबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण महानुभावहरु प्रति पार्टीले धन्यवाद ज्ञापन गर्दै निम्न वक्तव्य प्रकाशित गरेको छ ।

धन्यवाद ज्ञापन
स्वास प्रश्वासमा केही समस्या आएपछि गत असोज ३१ गते नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, थापाथली काठमाण्डौमा भर्ना भई उपचार गराउँदै आउनु भएका हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ कार्तिक ७ गते अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । अस्पतालमा रहनु भएको अवधिभर उहाँको उपचार प्रक्रियामा प्रत्यक्ष संलग्न हुनु भएका नर्भिक अस्पतालका डाक्टर तथा परिचारिकाहरु, उपचारमा चासो राख्ने अस्पताल प्रशासन तथा व्यवस्थापनमा खट्ने सम्पूर्ण कर्मचारीहरुप्रति हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
उपचारको प्रक्रियामा अस्पतालमा प्रत्यक्ष उपस्थित भई स्वास्थ्य लाभको कामना गर्ने उपराष्ट्रपति, अन्य पार्टीका नेताहरु, भू. पू. प्रधानमन्त्रीहरु, बहालवाला तथा भू. पू. मन्त्रीहरु, विशिष्ट व्यक्तित्व तथा आम नागरिकहरु र सामाजिक सञ्जालको माध्यमबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण महानुभावहरु प्रति हाम्रो पार्टी धन्यवाद ज्ञापन गर्दछ ।
पार्टीका नेता कमरेड महासचिवको स्वास्थ्य उपचारका लागि देशैभरिबाट विभिन्न ढङ्गले परिचालित हुनु भएका पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, आम शुभचिन्तक तथा समर्थक जनताप्रति हाम्रो पार्टी आभार व्यक्त गर्दछ र उहाँहरुले पुर्याउनु भएको सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
मिति : कार्तिक ८, २०७८
प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)































