जगदीशचन्द्र भण्डारीका दुई कविता

प्रकाशित मिति : २०७८ बैशाख २०

(१)मानिस हुनु

मानिस हुनुकोअर्थ
मानिस हुनु हो
मानिस नहुनु
मानिसको अर्थ
हराउँदै जानु हो
सबै किसिमका
उत्पीडन
सबै किसिमका
अन्याय
सबै किसिमका
धोका
सबै किसिमका
छलकपट
मानिसमाथि हुने
घृणा
मानिसले नै
पखाल्न सक्छ
मानिसले नै
मानिस बन्ने
औजार
बनाउन सक्छ
मानिसको
संसारबाट
मानिसलाई
बेदखल गर्ने
कानुनका किताब
च्यात्न सक्छ
तिनका संविधान
जलाउन सक्छ
लेख्ने हात
काट्न पनि सक्छ
मानिसका लासमाथि
उठ्ने
अनि मानिसकै
हड्डी र मासुका
थुप्रोमा
बनाइएका
दरबारहरूमा
मानिसले नै
आगो झोस्न सक्छ

(२) उनीहरु

उनीहरू प्रतीक हुन्
उनीहरू प्रतीक हुन्
उनीहरू अलङ्कार हुन्
अनि समयका बिम्ब हुन्
कविता काव्य हुन्
अन्यायका विरुद्ध
लयबद्ध
इतिहास निर्माता
मुक्तिका बिहान
शासकका तानाशाही
र आधिपत्यका विरुद्ध
ठुलाठुला घटनाहरू
अर्थात्
मजदुर हुन्
भयानक बिखालु
जीवनबाट
उन्मुक्त हावा जसरी
फैलन्छ सङ्गीतबद्ध भई
संसारभरि
तुफानी प्वाँखसँगै
उड्छ उडाउँछ
भत्काउँदै
शासनका क्रूरताहरू
हेर !
मानिस तीसँगै
हिंडिरहेका छन् ।