गान्धी तुलसी स्मारक महागुठीको चलअचल सम्पत्ति संरक्षणमा योगदान पु¥याउने व्यक्तित्वहरु सम्मानित

प्रकाशित मिति : २०७८ बैशाख १३

काठमाडौं । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको चल अचल सम्पत्ति संरक्षणमा योगदान पु¥याउनु भएका व्यक्तित्वहरु सम्मानित हुनुभएको छ । ललितपुर महानगरपालिकाको पाँच नं. वडा र व्यापारिक वर्गले एक कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा उहाँहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनुहुने व्यक्तित्वहरुमा महागुठीका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री भद्राकुमारी घले, महागुठीकी निवर्तमान अध्यक्ष उर्मिला गर्ग, निवर्तमान महासचिव तथा पूर्व संविधानसभा सदस्य महालक्ष्मी क्षेष्ठ, प्रतिनिधिसभा सदस्य पूर्णकुमारी सुवेदी, पूर्व महिला आयोगकी अध्यक्ष नैककला थापा, बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिल पोखरेल, प्रदेशमान श्रेष्ठ, पत्रकार इन्द्र राउतलगायत हुनुहुन्थ्यो । उहाँहरुलाई दोसल्ला ओढाएर, सयपत्रीको माला र समाजसेवी तुलसीमेहर श्रेष्ठको फोटो अंकित मायाको चिनो दिएर सम्मान गरिएको थियो । भद्रकुमारी घलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष विकासमान श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले महागुठीको सम्पत्ति संरक्षणमा प्रत्यक्ष परोक्ष रुपमा महत्वपूर्ण भूमिका खेलेको भन्दै वडा अध्यक्ष विकासमान श्रेष्ठलाई समेत प्रमुख अतिथि घलेले दोसल्ला ओढाए सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै महागुठीकी पूर्व अध्यक्ष भद्रकुमारी घलेले बरिष्ठ समाजसेवी तुलसीमेहर श्रेष्ठलाई आम नेपाली जनता र राज्यले राम्रोसँग चिन्नुपर्ने र उहाँले समाजसेवाको क्षेत्रबाट गर्नुभएको योगदानको उच्च कदर गरिनुपर्ने धारणा राख्नुभयो । उहाँले सामाजिक संस्थाहरुलाई स्वायत्त रुपमा काम गर्ने वातावरण बनाउनु पर्ने र सरकारले हात हाल्न नहुने पनि विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गान्धी तुलसीमेहर स्मारक महागुठीमा राज्यले हात हालेकोले समस्या उत्पन्न भएको हो । महागुठीको विधान अनुसार निर्वाचित कमिटिलाई भंग गरेर अर्को कमिटि बनाउने खेलमा राज्यको समेत संलग्नता हुँदा संस्थामा जटिल समस्या उत्पन्न हुन गएको हो ।” संस्थाको सम्पत्ति हिनामिना गर्न खोज्ने गतल तत्वहरुका विरुद्ध मुद्दा जितेको यति लामो समय बितिसक्दा पनि सरकारले किन तदर्थ समिति बनाउन सकेको छैन भनी प्रश्न गर्नुभयो । उहाँले सरकार पनि संस्थाको अरबौं सम्पत्ति हिनामिना गर्न खोज्ने तत्वहरुको प्रभावमा परेको त होइन भन्दै संशय व्यक्त गर्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै महागुठीकी महासचिव तथा पूर्व संविधानसभा सदस्य महालक्ष्मी श्रेष्ठले मुद्दा जिते पनि अहिले पनि भूमाफियाहरुले दुःख दिइरहेको बताउनु भयो । संस्थाको चल अचल सम्पत्ति हड्न खोज्ने भूमाफियाका विरुद्ध ६ बर्षसम्म मुद्दा लडेको र अन्ततः संस्थाको जित भएको चर्चा गर्दै उहाँले संस्था डुबाउन खोज्ने व्यक्तिहरुको नाम नै लिनुभयो । उहाँले भन्नुभयो, “हामीलाई ६ बर्षदेखि दुःख दिने र अहिले पनि दुःख दिइरहने व्यक्तिहरु नारायण दाहाल, उदयमोहन श्रेष्ठ र संस्थाकै कर्मचारी प्रेम लामिछाने हुन् ।” उहाँले संस्थाको सम्पत्ति बचाउन आफूहरु दिनरात नभनी अहोरात्र घटेको भन्दै संस्थाको सम्पत्ति बचाउन प्रत्यक्ष परोक्ष रुपमा सहयोग पु¥याउने संस्थाकी पूर्व अध्यक्ष भद्रकुमारी घलेलगायत मुख्य गुठियारहरु र सम्मानित व्यक्तित्वहरुलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।

मुद्दा जितेपछि तदर्थ समिति बनाउने प्रक्रियामा अहिले पनि विभिन्न व्यवधान खडा गरिएको चर्चा गर्दै माफियाहरुले समाजकल्याण मन्त्रीलाई समेत प्रभावमा पारेको अनुभूति हुनु दुखद् भएको बताउनु भयो ।

तदर्थ बनाउने विषयमा आफूहरु लचिलो गरी प्रस्तुत भएको र प्रधानमन्त्री, उपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म सकारात्मक रहेकोले अब चाँडै संस्थाले पुनर्जीवन पाउने विश्वास दिलाउनु भयो ।

संस्थाको सम्पत्ति बचाउन नेतृत्वदायी भूमिका खेलेकोले मुख्य गुठियार लगायत सम्बन्धित सबै पक्षले अबको कार्यसमितिको अध्यक्ष बन्न प्रस्ताव आएको, त्यसका लागि आफू तयार रहेको जानकारी दिंदै त्यसका लागि सकारात्मक योगदान गर्न संस्थाका सदस्यहरुलाई अपिल समेत गर्नुभयो ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य तथा महिला नेतृ पूर्णकुमारी सुवेदीले सामाजिक संघ संस्थाबाट पु¥याएको योगदानले राज्यले उच्च कदर गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भद्रकुमारी घलेदेखि महालक्ष्मी श्रेष्ठसम्मले समाजसेवाको क्षेत्रबाट राज्यमा पु¥याउनु भएको योगदानबाट नयाँ पुस्ताले पनि धेरैकुरा सिक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

संविधानसभाको पूर्व उपाध्यक्ष समेत रहनुभएकी नेतृ सुवेदीले दिनरात नभनी संस्थाको चल अचल सम्पत्ति सुंरक्षणमा मरिमेटेर लाग्नुभएका महालक्ष्मी श्रेष्ठ लगायत संस्थाका मुख्य गुठियारहरुप्रति खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष विकासमान श्रेष्ठले आफू सानो छँदा तुलसीमेहर श्रेष्ठसँगको सामिप्यताको अनुभूतिसहित उहाँको समाजसेवाको राज्यले उच्च कदर गर्नुपर्ने धारणा राख्नुभयो । पाटन ललितपुरमा जन्मनुभएका बरिष्ठ समाजसेवी श्रेष्ठको जीवन र कर्मको उच्च मूल्यांकन गर्दै पाटनमा ‘तलुसीमेहर मार्ग’ भनेर सडकको नामांकरण गरिएको जानकारी दिनुभयो । उहाँले समाजसेवामा आफ्नो सिंगो जीवन व्यतित गर्नुभएका भद्रकुमारी घले, उर्मिला गर्ग, महालक्ष्मी श्रेष्ठ लगायतको पुस्ताबाट पछिल्लो पुस्ताले धेरै उत्प्रेरणा लिनुपर्ने समाजसेवाजस्तो पवित्र कार्यमा हात हाल्न अग्रसर हुनुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा लगनखेलस्थित महागुठीकै घरमा व्यापार गरेर बस्ने व्यापारी वर्गको तर्फबाट मन्तव्य राख्दै भैरव राईले संस्थामा भएको दुई पक्षबीचको झगडा र मुद्दा मामिलाले आफूहरु पनि प्रभावित भएको चर्चा गर्नुभयो । उहाँले  मुद्दा जितिसकेको र अब नयाँ कार्यसमितिले संस्थाको जिम्मा लिने प्रक्रिया चलिरहेकोले आगामी दिनमा व्यापारीवर्गलाई थप सहज हुने बताउनु भयो । सामाजिक संस्थाको घर प्रयोग गरिरहेको हुनाले संस्थाको सम्पत्तिको चल अचल सम्पत्तिको संरक्षण गर्ने दायित्व आफूहरुको पनि रहेको भन्दै राईले संस्थाको सम्पत्ति बचाउने र खानेबीचको लडाइँमा आफूहरुले सँधै बचाउने पक्षलाई साथ सहयोग गर्दै आएको पनि बताउनु भयो ।

कार्यक्रमको सञ्चालन, स्वागत तथा धन्यवाद ज्ञापन वडाका सदस्यहरुले गर्नुभएको थियो । कार्यक्रममा महागुठीका कर्मचारीहरुलाई समेत खादा ओढाएर सम्मान गरिएको थियो । ब्यानर पढेर प्रमुख अतिथि घलेबाट उद्घाटन गरिएको कार्यक्रम ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।