लामो समयदेखि जातिय विभेदबाट उत्पीडित रहेको नेपाली समाज आज सम्म पनि त्यहि जातिय समस्याबाट हेलिएको अवस्था जगजाहेर छ । अन्धविश्वास र रुढीवादको अन्त्य हुनुपर्छ भनेर संघसंस्थाहरुले विभिन्ने देशी विदेशी लगानीबाट जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको प्रसस्तै पाइन्छ । त्यसै गरि पुष्पलाल श्रेष्ठको पालादेखि शुरु भएको कम्युनिस्ट आन्दोलनले निरन्तर जातिय, लैङ्गीक र वर्गीय विभेदमा टिकेको क्रमशः सामन्तवादी र पुँजीवादी राज्यसत्ताका विरुद्धमा निरन्तर विभिन्न खालका आन्दोलन र युद्धहरु संचालन गर्दै आयको कुरा पनि जगजाहेर छ । त्यसले समस्याको केही आंशिक रुपमा हल भएको त देखिन्छ तर त्यसको समुल नष्ट हुन सकेको छैन । जब सम्म यसको मूल जरामा पुगेर निराकरणको विधि अपनाइन्न तव सम्म यो समस्या समाधान हुने अवस्था देखिदैन ।
यसका लागि ऐतिहासिक भौतिकवादी धाराबाट जानु पर्ने देखिन्छ । जव सम्म समाजमा रहेको अधिभूतवादी चिन्तनको अन्त्य हुँदैन तव सम्म सामन्ति अवशेषहरु समाप्त हुँदैनन् किनकि मानिसहरुमा जातिय व्यवस्था इश्वरले बनाउनु भएको हो र आफ्नो भन्दा अर्को जातीको हातबाट कुनै पनि कार्य गर्दा नरक परिन्छ भन्ने चिन्तनका कारण मानिसहरु मुखले जातीय भेदभाव गर्नु हुँदैन । छुवाछुत र महिला हिंशा जस्ता जघन्य अपराधहरुको अन्त्य हुनुपर्छ भनेर फलाकिरहँदा पनि उनीहरुको अवचेतन मनमा अधिभूतवादले स्वर्गलोक, मत्र्यलोक, पाताललोक, पुनर जन्म, ग्रह, दशा, भाग्य आदिको अमिट छाप पारिदिएको हुँनाले उनीहरु त्यो भेदभावबाट आत्मगत रुपले निस्कन नसकेको अवस्था नै निश्चित रुपमा आजको बस्तुगत समस्या हो ।
यसको तात्कालीन र दिर्घकालिन समाधानका लागि यो समस्यालाई सामान्यीकरण र विशिष्टीकरणका दुइटै चरणहरुको विश्लेशन गरि घुम्ती शिक्षण विधि तथा दन्ते भौतिकवादी प्रशिक्षण पनि चलाउन आवश्यक देखिन्छ । हाल सरकारले सवलीकरणका रुपमा अन्तरजातिय विवाह गर्ने जोडीहरुलाई रु. १,०००००÷–( एकलाख मात्र) प्रोत्साहन भत्ता दिने कार्य तत्कालीन समाधान हो यसले दिर्घकालिन समाधानका लागि कुनै भूमिका निर्वाह गरेको देखिदैन । यसै गरि छुवाछुत र महिला हिंशा अन्त्यको लागि सडक नाटक, टेली सृङ्खला आदिको माध्यमबाट पनि केही तातकालीन समाधानहरु त भएका छन् । तर यी सबैले समाजलाई विकासको दिशातिर लैजानु भन्दा पनि समस्या बेचेर खानेहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेल मात्र बनेको छ ।
आज विहानै दमाइको अनुहार देखेपछि साहिद विग्रीन्छ भन्नेहरु उसले सिलाएको कपडा लगाएर सगुन ढल्काउने काम पनि गरिरहेका छन् । दलितले बनाएको कराइमा तरकारी पकाएर खानेहरु दलितलाई ढोका वाहिर राखेर अछुत घोषणा गरि आफ्नो दुष्चरित्र प्रदर्शन गरिरहेका छन् । सुनारले छोएको पानी नखानेहरु त्यही सुनपानीले पवित्र बनाउने कार्य गरिरहेका छन् । त्यही दलितले बनाएको धारामा पानी खाने तर त्यो धारा छुन नहुने मान्यताबाट पनि पर हट्न नसकेको स्थिति छ । यसरी ऐतिहासिक रुपमै ब्रम्हानवादी मनुस्मृतीले चलाएको वर्णव्यवस्थाको भूलभूलैया रुपी आध्यात्मवाद जो कोहीको लागि पनि समस्याको विषय बनेको छ । दिनभरी सीमाविहिन ढंगले सँगै काम गर्ने दलित दाईसँग साँझ सीमाङ्कन भएपछि गैर दलितहरुलाई पनि नमजा महशुस हुने गर्दछ । दलितले छोएको खाना खाएपछि नरकमा परिन्छ । दलितको बोलेको वचन सुनेपछि पुण्यको खाता घट्दछ । दलितहरुलाई भगवानले पैतलाबाट निस्केको भनेर घोषणा गर्नु भएको छ जस्ता घोर कपोकल्पीत कुराहरुबाट त्रसित गैर दलित समाजले पनि आज नचाहेर पनि दलितमाथि भेद गर्नु परेको कुराबाट हैरान छ । यहाँ विभेद गर्नेहरु सँग लडिन्छ तर विभेदको कारण खोजिदैन र त्यसको जरा के हो र त्यसले कसरी पटक पटक यी गैरबराबरी विष बमन गरेर समाजलाई तहस नहस गरिरहन्छ । प्रसिद्ध विद्वान बाबुराम आचार्यले भने कसैलाई भौतिक रुपमा परास्त गर्नु भन्दा उसको मन, मस्तिष्क माथि विजय गर्नु वाञ्चनीय हुन्छ । त्यसैले भौतिकवादीहरुले आध्यात्मवादीहरुलाई वहिस्कार नगरी त्यसको निकासका निम्ति मैत्रीपूर्ण आवश्यक वहस चलाउन जरुरी छ । किनकि अनपढहरुलाई हेला हैन माया गर्दै प्रौढ शिक्षा खोले जस्तै आध्यात्मवादीहरुलाई उनीहरुको आँखामा लागेको भ्रम र अन्धविश्वासको कुइरोबाट हटाउने प्रयत्न वैज्ञानीक द्वन्दात्मक भौतिकवादीहरुले गर्न जरुरी छ ।
यसको दिर्घकालिन समाधान भनेको पुराना लेखोट, कपोटहरु, अस्तिपञ्जर, वेद, उपनिषद, गीता, रामायण, कुरान, बाइवल आदिको बस्तुवादी अध्ययन अनुसन्धान र विश्लेशन गर्दै त्यसलाई वैज्ञानिक भौतिकवादी ढंगले यसको विकास गर्नु नै यसको समाधान हो । यसका निम्ति द्वन्दात्मक भौतिकवादी दिशाबाट वहस छलफल चलाउनु पर्ने आवश्यकता देखिन्छ । यसबाट मानिसको मन भित्र अमिट रुपले बसेको काल्पनीक आध्यात्मवादको समूल नष्ट गर्ने दिर्घकालिन योजनाले मात्र यो समाजको वर्गीय उत्थान हुन सक्दछ यसका निम्ति सर्वप्रथम सांस्कृतिक क्रान्ति नै आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर