च्यात्न नसकेको तस्बिर

च्यात्न नसकेको तस्बिर

झण्डै पन्ध्र वर्ष पुग्न लागेछ त्यो तस्बिरले मेरो पर्सको एउटा कुनामा ठाउँ पाएको । यो पन्ध्र वर्षमा मैले कतिवटा पर्स फेरेँ त्यसको कुनै लेखाजोखा छैन मसँग । तर बस् त्यो तस्बिरले भने यो पर्सको कुनामा ठाउँ लिइनै रहेको छ । सायद मेरो मनको कुनामा पनि ठाउँ पाएर होला ।
 
पटक पटक पर्स फाटेर गयो तर अहँ त्यो तस्बिर उस्तै छ । नयाँ नयाँ पर्समा झण्डै बर्षै पिच्छे त्यो तस्बिर बसाँइ सरिरहन्छ । यसैगरी बिते विगत पन्ध्र वर्ष ।
 
हरेक पटक पर्स परिवर्तन गर्दा विस्तृतरूपमा सबै कागजात हेरेर आवश्यक मात्र नयाँ पर्समा भित्राउँछु म । बाँकी च्यातिदिन्छु । तर त्यो उनको तस्बिर कहिल्यै च्यात्न सकिँन । न फ्याक्न नै सकेँ ।
 
जीवनको पहिलो मायाको तस्बिर हो त्यो । पन्ध्र वर्ष कसैले नदेखी लुकिरह्यो मेरो पर्समा । तेह्र वर्ष भएछ श्रीमतीलाई पनि नभनी राखेको । उनका आँखा छलेर त्यो तस्वीर बसिरह्यो पर्सको भित्र कुनामा ।
 
अहिले ठूलो पश्चाताप गरिराको छु म । किन मैले विवाह पछिका यी तेह्र वर्षसम्म आफ्नो माया र उनको तस्बिर बारे खुलस्त हुन सकिँन ? आफूलाई मन परेको अरु केटीको प्रशंसा गर्दै पर्समा तस्बिर बोक्दा श्रीमतीमा इर्ष्या होला भन्ने मेरो चिन्तनले यतिका बर्ष बितेछन ।
 
पन्ध्र वर्षदेखि भूमिगत त्यो तस्विर चकचके छोराले पर्सबाट निकालेर बुझाईदिएछ उसकी आमालाई । उमेरले दश वर्ष पुग्यो उ । उम्रँदैकोे तीन पात, बाबाकी गर्लफ्रेन्ड भनेरै दिएछ ।
 
अब ठुलो रहस्योदघाटन गर्नु थियो मलाई । चित्त बुझ्दो जवाफ मागिरहेकी थिइँन उनी ।
खै मेरो कथाले कस्तो प्रभाव पर्ला ऊनी माथि । तर शाहस गरेर अब खुलस्त त्यो ऐतिहासिक गाथा भन्ने हिम्मत गरेँ ।
 
‘कहालीलाग्दो दशवर्षे जनयुद्धको अन्तिम समय थियो त्यो । ति दिनहरुमा जिवनको कुनै ग्यारेन्टी थिएन । बलिदानका कोटाहरु धमाधम बढिरहेका थिए । उन्नाइस, बिस बर्षको त्यो उमेरमा पनि समाजलाई केहि हद सम्म बुझेर मृत्युलाई जित्न सक्ने शाहस जम्मा गर्नु साधारण मानिसले हिम्मत गर्ने कुरा होइन । एकपछि अर्को हुने लडाँइमा शहिदको झन झन लामो लिस्ट थपिँदै जान्थ्यो । कसको यात्रा कहाँ सम्म हो कुनै पत्तो हुँदैनथ्यो । जीवन मरणको त्यो यात्राका हामी दुवै यात्रीको गन्तब्य पुगि छाड्ने संकल्प थियो ।
 
२०६२ साल मंसिर २३ गतेको त्यो साँझ कमरेड शीलाले भनेकी थिईन, “तपाँइ हाम्रो यो उमेर समाज र संघर्षलाई बुझ्ने उमेर हो । यो समाजका लागि केहि गर्नु छ हामीले । माया प्रेम हाम्रो ब्यक्तिगत विकासमा पर्खाल हुनु हुँदैन । यो उमेर अझ बढी संसारलाई बुझ्ने र सिक्ने उमेर हो । टाढा छ गन्तब्य । हामी एक अर्कालाई सहयोग गर्दै गन्तब्य तर्फ बढिरहनु पर्छ ।”
 
टह टह जुनेली त्यो साँझ, खुल्ला आकाश मुनीको उनकोे साथ, मंसिर महिनाको तुषारोले सेकिरहँदा उनि अभिभावक जस्तै लाग्थिन । नजिकै जुनेली प्रकाशमा टल्किरहेका सेता हिमालहरु हाम्रै चियो गरे जस्तो लाग्थ्यो ।
साँच्चै हिमालको काखमै थियो त्यो बसाइ । भोजपुरको दिलखर्क, जहाँ बादलले पूर्बि कमाण्डको बैठकलाई सम्बोधन गरिरहनु भएको त्यो साँझ मलाई बादलको त्यो सम्बोधन भन्दा कता न कता उनको सम्बोधन महत्वपूर्ण थियो ।
उनि सँगको सामीप्य र उनका एक एक शब्दहरु यी पन्ध्र बर्षमा मेटिन सकेका छैनन । टह टह जुन लाग्दा जव चिसो तुषारो पर्छ अनि म उत्तर तर्फका तिनै चियो गर्ने हिमालहरु हेरेर उनलाई सम्झन्छु । त्यो साँझलाई सम्झन्छु । कतै उनि त्यहि हिमालको काखमा छिन कि जस्तो लाग्छ । अनि पर्सबाट त्यहि तस्विर निकालेर हेरिरहन्छु । जव चिसो बढ्न थाल्छ अनि रुन मन लाग्छ मलाई ।’
बिचैमा भक्कानिएर रोक्किएँ म । उनले महशुस गरिसकेकी थिइँन अव यो संसारमा कमरेड शीला छैनन भन्ने कुरा । शायद त्यसैले उनको अनुहारमा सहानुभूतिका भावहरु प्रष्ट देखिन्थे । फेरि सम्हालिएर कथालाई निरन्तरता दिएँ ।
‘त्यो साँझ नै उनि सँगको सामीप्यको अन्तिम साँझ रहेछ । त्यसपछि अलग भयो हाम्रो कार्यक्षेत्र । झण्डै दुई महिना पछि भोजपुरको घोडेटार आक्रमण भयो । असफल त्यो आक्रमण बाट सकुशल फर्किए पनि बाटोमा हवाई आक्रमण बाट क्षत बिक्षत भयो उनको शरिर । तिब्र रक्तस्राबलाई रोक्ने साथीहरुको प्रयास असफल भएपछि केहि समय छट्पटाएर सँधैलाई बिदा लिइँन उनले ।
मेरो आफ्नै अलग जिम्मेवारीका कारण उनको त्यो दर्दनाक पीडामा सहभागी हुन सकिँन । गन्तब्य सम्म पुग्न एक अर्कालाई सहयोग गर्ने बाचा पूरा गर्न सकिँन मैले । अधुरै रह्यो शिखर चुम्ने उनको संकल्प ।
 
त्यस यता मसँग पर्समा भएको त्यही एउटा उनको तस्बिर न कहिले अरु कागज झैं च्यात्न सकेँ न फ्याँक्न नै सकेँ । हृदयमा अनगिन्ती यादहरु छन उनका कहिल्यै नमेटिने । जब पहिलो पटक तिमीलाई देखेको थिएँ, तिम्रो अनुहारमा उनको झझल्को आउँथ्यो मलाई । अनि लुकि लुकि तिम्रो अनुहारमा उनलाई पढ्थेँ म।’
 
कथा सुनेर निकै भावुक भइँन उनी । अघिसम्म त्यति चर्को स्वरले स्पष्टिकरण माग्ने उनी अब प्रतिक्रिया विहिन भएकी थिइँन । नियालेर उनका आँखामा हेरें विस्तारै दुई थोपा आँसु गडुल्किएर झरे उनका ।
 
अर्को दिन जब म कोठामा छिरेँ । मैले आँशु रोक्नै सकिँन । भित्तामा ठूलो फोटो फ्रेममा इनलार्ज गरेर त्यो तस्विर सजाइएको रहेछ । त्यसमा लेखिएको थियो ‘महान शहीद कमरेड शीला प्रति हार्दिक श्रदान्जली ।’
 
त्यसैबेला उनी कोठा भित्र छिरिन अनि मलाई सुम्सुम्याउँदै भनिन् ‘उनी हामी सबैको ढुकढुकीमा छिन । सहिद कसैको व्यक्तिगत हुँदैन । न कुनै पार्टी, जाति, क्षेत्र, धर्म या सम्प्रदायको । सहिद देशको हुन्छ । उनीहरु यो देशका सहिद हुन । गणतन्त्रका जननी हुन ।’
 
उनको विशाल हृदय ले झन झन बढी उर्लिएर आयो आँशु । अनि उनलाई अँगालेर धित मरुन्जेल रोएँ । यस्तो लाग्दै थियो शीला उनको आत्मामा प्रवेश गरेर मलाई माया पोखिरहेकी छिन ।
 
यो सबै दृष्य अवलोकन गरिरहेको छोरो आयो र माफी माग्यो ।
‘सरि बाबा, मैले हिजो हजुरको पर्सबाट त्यो फोटो नझिकेको भए हुन्थ्यो ।’
 
उसलाई लागिरहेथ्यो बाबा ममीको झगडा भयो । त्यो उसै द्वारा सिर्जित थियो । अनि मैले नै भित्ताको ठूलो फोटो देखाउँदै भनेँ उ हेर त ठूलो फोटो । यो शहीदको फोटो हो । देशको लागि आफ्ना सबै निजी सपनाहरु बलिदान गर्ने महान शहीदको फोटो हो ।
 
खै के बुझ्यो उसले । निकै बेरसम्म नियालेर एकटकले हेरिरह्यो उ ।
 
साँझ छोरीले मलाई त्यो फोटो देखाउँदै तोते बोलीमा भनी, ‘बाबा, दादाले मलेको मान्चेको फोटो भन्च ।’
 
‘यो शहीदको फोटो हो छोरी । शहीदहरु कहिल्यै मर्दैनन् । उनीहरु अमर हुन्छन । उनीहरुलाई माया गर्नुपर्छ हस ।’ मैले भनेँ ।
 
उ दादालाई गलत प्रमाणित गर्न किचन तिर दौडी । किचनमा फोटोको निकै चर्चा चल्यो अनि हजुरबालाई लिएर आई छोरी फोटो देखाउन ।
 
‘कुन शहीदको फोटो हो हेरौं न त ।’ बाले भन्नु भयो । हजारौं शहीदको भीडमा त्यो फोटो चिन्न बालाई मुस्किल थियो । कसरी चिनाउँ बालाई , असहज महशुस गरेँ मैले ।
ढोकामा उभिरहेकी उनैले भनिन्, ‘बा, यो २०६२ सालमा भोजपुरको घोडेटार लडाँइ बाट फर्कदै गर्दा हवाई आक्रमणबाट शहीद भएकी मेरी साथी कमरेड शीलाको फोटो हो । आज पन्ध्र बर्ष पछि यो तस्विर भेटेर मैले ठूलो बनाएर सजाएकी हुँ ।’
 
तस्बिरको ब्याख्याले बा निकै गम्भिर देखिनु भो । शायद २०५९ सालमा ओखलढुङ्गा रुम्जटार बाट ल्याईएका घाईतेलाई मधेश झार्न दुई रात बोके पछि गुमाएको सम्झनु भो उहाँले ।
 
‘दशबर्षे जनयुद्धमा जनताका हजारौ छोराछोरीले बलिदान गरेकाछन । शहीद आफैँमा सम्मानित शब्द हो । तर इतिहाँसमा पटक पटक शहीदहरु माथि अपमान भएका छन । प्रजातन्त्र आएपछि चार शहीद माथि अपमान नभएका होईनन । रत्न कुमार बान्तबा ३७ बर्ष पछि शहीद घोषणा भए । ऋषि देबकोटालाई अपमान गर्नेको कुनै कमी थिएन । तर आजको समाजले उच्च सम्मान प्रकट गर्दछ । जनयुद्धका शहीदहरु मथि पनि पटक पटक अपमान भइरहेका छन । आज अपमान गर्नेका सन्ततिले भोलि धिक्कार्नेछन । समाज कहिल्यै पछि फर्कदैन ।’
 
यसो भनिरहँदा बा निकै अनुभवी देखिनुहुन्थ्यो । पञ्चायती ब्यबस्था देखिका प्रशस्त अनुभव थिए बा मा ।
‘हजुल्बा चहिदलाई माया गल्नुपल्छ है ।’ छोरीले चेब्रे पार्दै बा लाई भनी ।
 
‘मेरी नातिनी पनि अब बुझ्ने भईसकी ।’ बाले छोरीलाई बोकेर आगनमा निस्कनुभयो । अनि आकाशमा चम्किरहेका ताराहरु देखाउन थाल्नु भयो ।
‘उ हेर त नानी आकाशमा कति ताराहरु चम्किरहेका छन । तिनै चम्किला ताराहरु हुन शहिद । उनिहरु सँधै आकाशमा रहन्छन ।’
‘दादा , कति धेलै चहिदहलु छन आकाचमा हेल्न आईज त ।’ आगन बाटै ठूलो स्वरले कराई उ ।
 
केहिछिन पछि आकाशका ताराहरु तेरो शहिद र मेरो शहिद भन्दै विवाद शुरु भयो उनिहरु बिच । अन्तत मैले नै त्यो विवाद समाधान गर्नुपर्यो ।
‘शहीदहरुलाई तेरो र मेरो भनेर भागबन्डा गर्यो भने यो बिशाल आकाशमा उनिहरु बिलाउनेछन । त्यसैले उनिहरु हामी सबैका शहीद हुन । सँधै आकाशमा चम्किरहन्छन ।’
 
अनि भित्ताको तस्बिर देखाउँदै भनेँ, यिनै चम्किला ताराहरु छन र त हामीलाई उज्यालो छरिरहेका छन ।
त्यस यता हरेक साँझ आकाशमा हेर्दै भन्छे छोरी, ‘बाबा आज पनि चहिदहलु आकाचमा चम्किलहेकाछन ।’
 
राजन राउतको फेसबुकबाट