उपत्यकामा ४२९ सहित १२२१ संक्रमित थपिए, आइतबार १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२१ पुग्यो

उपत्यकामा ४२९ सहित १२२१ संक्रमित थपिए, आइतबार १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२१ पुग्यो


काठमाडौं । गएको पछिल्लो २४ घण्टामा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ ।

उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

पछिल्लो प्राप्त विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।

यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।