टाढिनु र औंला ठड्याउनु
एक अर्को कित्तामा उभिनु
र एकअर्कोलाई प्रहार गर्नु
बमबर्सा गर्नु
त्यस्तै रहेछ त
गतिको नियम
अचम्म किन मान्नु
एउटै वर्णमालामा
उनिनु र फरक बन्नु
भिन्न बनेरै
शब्दसत्ता स्थापित गर्नु
अर्थरहित कथित मन्त्र बन्नु
ढोंग गर्नु छल्नु
कायिक अभिनय गर्नु
जादुटुना गरेरै
शब्दमहल खडा गर्नु
तत्त्वार्थबिन शब्द हुनु
अर्थ विचलित हुनु
सारा भाष्य संशोधन गरि
शब्द र अर्थका
अन्तःलय विस्थापित गर्नु
र विसर्जनमा विलीन हुनु
उसले उसलाई
सधैंका लागि बिर्सनु
हराउनु र बगरे बन्नु
आफैंले आफ्नै
इतिहास र स्मृतिलाई
भयानक दुस्मन ठान्नु
विवेक र चेतनाका
सबै झ्यालढोका बन्द गर्नुलाई
राम्रो र महान ठान्नु
र बिचेत भै भाग्नु
प्रिय कुरा त
के हुन्थ्यो भने
भित्र र बाहिर दुबैतिर
कहिल्यै ननिभ्ने
रक्तवर्णी स्फिलिङ्गी
आगो हुर्हुर बाल्नु
र त्यसैमा आफुलाई
सुन्दर आकर्षक फुल
बनाउनु फुलाउनु
 
जुन हुन सकेन !

प्रतिक्रिया

सम्बन्धित खवर