पुटिनका आलोचक एलेक्सी नाभाल्नीलाई विष खुवाइएपछि कोमामा

नाभाल्नी शीर्ष सरकारी अधिकारीविरुद्ध भ्रष्टाचार अभियानका कारण र राष्ट्रपति भ्लादिमिर पुटिनको कटु आलोचकका रुपमा चर्तित छन

प्रकाशित मिति : २०७७ भाद्र ४

- एजेन्सी

भाद्र ४ मास्को,
रुसका प्रतिपक्षी नेता एलेक्सी नाभाल्नी कथितरुपमा विष खुवाइएपछि साइबेरियास्थित अस्पतालको भेन्टिलेटरमा कोमामा रहेका छन । उनको प्रवक्ताले उनलाई विष खुवाइएको आरोप लगाएकी छिन ।
किरा यार्मिसका अनुसार ४४ वर्षीय नाभाल्नी सर्बियाबाट मोस्कोसम्मको यात्राको दौरान अकास्मात बिरामी परेपछि उनको विमानलाई आपत्तकालित अवतरण गरिएको थियो । उनको अवस्था चिन्ताजनक रहेको आइसीयूमा राखेर उपचार भइरहेको तास समाचार एजेन्सीलाई उद्धत गर्दै अलजजिराले समाचार प्रकाशित गरेको छ । यार्मिसले पनि ट्वीटरमा उनलाई विष खुवाइएको र हाल आइसीयूमा रहेको जानकारी दिएकी छिन ।
‘उनको चियामा केही मिसाएर विष दिइएको हामीलाई लागेको छ । उनले विहान पिएको भनेको चिया मात्र थियो,’ उनले भनिन, ‘डाक्टरले तातो पेय पदार्थबाट विषलाई शरीरले सोसेको बताएका छन ।’
उनले एक रेडियोसँग कुरा गर्दै विमानमा रहँदा उनलाई पसिना आउन थालेको र बाथरुम जाँदा बेहोस भएको बताइन । ‘उनी हालसम्म बेहोस छन,’ उनले भनिन ।
यार्मिसले यो वर्षको क्षेत्रीय चुनावी अभियानका कारण उनलाई विषय खुवाइएको हुन सक्ने आशंका व्यक्त गरेकी छिन । नाभाल्नी शीर्ष सरकारी अधिकारीविरुद्ध भ्रष्टाचार अभियानका कारण र राष्ट्रपति भ्लादिमिर पुटिनको कटु आलोचकका रुपमा चर्तित छन । उनीमाथि यसअघि पनि भौतिक हमला भएको थियो ।
गत वर्ष पक्राउ परेका बेला जेलमा विष दिइएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । डाक्टरहरुका अनुसार उनमाथि एलर्जिक आक्रमण भएको थियो ।
सन २०१७ मा उनीमाथि उनको अफिस अगाडि नै रसायनिक आक्रमण भएको थियो । त्यसतिबेला उनको आँखामा चोट लागेको थियो ।