दलित युवा हत्याका दोषीलाई हदैसम्मको कारवाही गर्न दलित मुक्ति मोर्चाको माग

प्रकाशित मिति : २०७७ जेष्ठ १४

- रामकुमार श्रेष्ठ

कावासोती । रुकुममा अन्तरजातीय विवाह गर्न खोज्दा युवालाई हत्या गर्ने दोषीमाथि कारवाहीको माग गरिएको छ ।
नेपाल दलित मुक्ति मोर्चाले एक विज्ञप्ति जारी गर्दै जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई कारवाहीको माग गरेको हो ।
नेपाल दलित मुक्ति मोर्चा केन्द्रिय समितिका इन्चार्ज केशबहादुर परियारद्वारा जारी विज्ञप्तिमा संवैधानिक रुपमा बर्जित भईसकेको जातीय विभेदजन्य सामाजिक अपराधलाई प्रश्रय दिदै आजको सभ्य एवं उन्नत समाजमा एउटा केटा र केटीबीच एक आपसमा लामो समयदेखि प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने सहमति अनुसार अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा दलित भएकै कारणले ज्यानै गुमाउने गरी घटना घट्नु अत्यन्तै निन्दनीय भएको उल्लेख गर्दै नेपालको संविधान र विद्यमान कानुन वमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको कार्रवाही गरी पीडित परिवारलाई न्याय, क्षतिपूर्ति र सुरक्षाको व्यवस्थागर्न र वेपत्ता भएकाहरुलाई तुरुन्तै खोजि गर्न साथै सम्पूर्ण घाइतेहरुको शीघ्र उपचारको लागि नेपाल दलित मुक्तिमोर्चा सरकार समक्ष जोडदार माग गर्दछ भनिएको छ ।
घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धान्जली, घाईतेहरुको शीघ्र स्वस्थ्य लाभ र पीडित परिवारजनमा समवेदना ब्यक्त गर्दै इन्चार्ज परियाले उक्त हत्याकाण्डको निष्पक्ष छानबीन गरी दाषीमाथि कडा कारवाही गर्न र बेपत्ताहरुको अबिलम्ब खोजी गरी स्थिति सार्वजनिक गर्न माग गरेको हो ।
जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज वि.क. र पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नंं. ८ सोती निवासी सुष्मा मल्ल बीच लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई अन्तरजातीय विवाह गर्न भनि प्रेमिकाको अनुरोधमा उनकोे घरमा जाँदा नीजको परिवार, उनका नजिकका नातेदार र जनप्रतिनीधि सोही वडाका अध्यक्ष डम्बर वहादुर मल्ल लगायत गाउँलेहरुले गरेको सांघातिक हमलाको घटनाले सिङ्गो दलित समुदायलाई आक्रोशित र मर्माहत बनाउनुका साथै घटनाले मानवअधिकार, नेपालको संविधान, कानुन र लोकतन्त्र कै उपहास गरेको दलित मुक्ति मोर्चाले ठहर गरकेो छ ।
विज्ञप्तिमा दलित समुदाय माथि गरिने जुनसुकै विभेद, अपमान, दमन, शोषण उत्पीडन सम्पूर्ण दलित समुदाय माथिको प्रहार भएको उल्लेख गर्दै यो समस्या सिंगो मुलुकको समस्या र मानवजातिको समस्या भएको उल्लेख गरिएको छ ।
त्यसैगरी पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नंं. ८ सोतीमा भएको गंम्भीर जघन्य अपराधको घटनामा संलग्न अपराधीहरुलाई हदै सम्मको कार्यवाहीको जोडदार माग र घटनाका पीडितको न्यायको पक्षमा भएका आन्दोलनहरुमा नेपाल दलित मुक्ति मोर्चाको तर्फबाट ऐक्यबद्धता जाहेर गरिएको छ ।