
चितवन । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल चितवन जिल्लाको आयोजनामा भारतीय विस्तारवादी अतिक्रमणका विरुद्ध विरोध प्रदर्शनका साथै भारतीय प्रम मोदी र नेपालका प्रम ओलीको पुत्लादहन समेत गरिएको छ । विरोध प्रदर्शनको क्रममा कोणसभा समेत सम्पन्न गरिएको छ । कोणसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालकी केन्द्रीय सचिवालय सदस्य अम्बिका मुडभरीले सम्बोधन गरेकी थिइन् ।

चितवनको भरतपुरमा गरिएको विरोध प्रदर्शनमा भारतीय विस्तारवादका विरुद्ध र दलाल नेपाली शासकहरुका विरुद्ध चर्को नाराबाजी गरिएको थियो । पुत्ला दहनको बेला प्रहरीसँग पुत्ला खोसाखोस समेत भएको थियो ।

त्यसैगरी मंगलबारै दाङको घोराहीमा पनि विरोध प्रदर्शन गरिएको छ । बिश्वब्यापी महामारीको अवस्थामा भौतिक दुरी कायम राख्दै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल र नेकपा मालेले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनको क्रममा आयोजित कोणसभालाई क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजि चौधरी, राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा मालेका दाङ जिल्ला सचिव नेत्र पाण्डे लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा दाङका सदस्य सुशील पोख्रेल गरेका थिए । कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपनि प्रदर्शनकारीहरुले परिस्थितिलाई सहज बनाएका थिए ।































