शनिबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो

शनिबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो



वैशाख २७, काठमाडौँ
आज विहानसम्मको प्राप्त जानकारी अनुसार नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसारउदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भुल्केका १८, ४५ र ६० बर्र्षीया महिलामा संक्रमण फेला परेको हो ।
भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्य विराटनगरस्थित कोशी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले बताइन । अन्यको स्वाब परीक्षण जारी रहेको छ ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकु काठमान्डौमा गरिएको परीक्षणमा कपिलवस्तुका एक जना १७ वर्षीय र दुई जना १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या ३० जना पुगेको छ । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ ।