
नवलपरासी । नवलपरासीको सुस्ताबासीको सुस्ता बचाउ आन्दोलनप्रति नेकपा क्रान्तिकारी माओवादीले ऐक्यबद्धता जनाएको छ ।
शनिबार सुस्तामै पुगेर सुस्ताबासीमाझ सभा गरी नेकपा क्रान्तिकारी माओवादीले सुस्ताबासीको सुस्ता बचाउ अभियानप्रति ऐक्यबद्धता जनाएको छ ।
कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् नेकपा क्रान्तिकारी माओवादीका प्रदेश ४ इन्चार्ज चन्द्र हरि सुवेदी अटलले सुस्ताबासीको सुस्ता बचाउ आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
अटलले भने – आज भारतले कालापानी, लिपुलेक, लिम्पिवाधुरालाई आफ्नो नक्शामा समावेश गरेको छ । सरकार यसरी नै मुकदर्शक भएर बसे भोलि सुस्ता पनि गाभेर भारतले नक्शा जारी नगर्ला भन्न सकिदैन ।
उनले नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले थालेको अभियान अन्तरगत नेपालका सिमा मिचिएका हरेक भूभागमा गएर सिमा अतिक्रमण फिर्ताका लागि आवाज उठाइएको बताए ।

अटलले सरकारले कुटनिटक पलहबाट वा त्यो गर्दा पनि नभए अन्तराष्ट्रियकरण गरेर भए पनि सिमाको समस्या हल गर्नु पर्ने र नेपाली भूमि फिर्ता गर्नृ पर्नेमा जोड दिए ।
त्यसैगरी कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका प्रदेश ४ का सेक्रेटरी केशबहादुर परियारले नेपाली भूमि रक्षाका लागि आफ्नो ज्यानको समेत बाजी थापेर भारतीय ज्यादति विरुद्ध लड्ने सुस्ताबासीलाई नेपाल सरकारले नागरिकता उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
परियारले भने – राष्ट्रियताको लागि सीमा रक्षाका लागि लड्ने नेपालीलाई नागरिकता नदिनु विडम्बना हो । सुस्ताबासीलाई तत्काल नागरिकता दिन मिल्ने जतिलाई प्रक्रिया पुरा गरेर र बाँकीलाई सरकारले कुनै निर्णय गरेर नागरिकता उपलब्ध गराउनु पर्दछ ।
परियारले जबसम्म भारतले नेपाली भूमि नेपालमै राखेर नयाँ नक्शा जारी गर्दैन, भारतीय सेना नेपाली भूमिबाट फिर्ता हुँदैन र जबसम्म भारतीय पक्षले अतिक्रमित भूमि फिर्ता गर्दैन तबसम्म क्रान्तिकारी माओवादीले आन्दोलन निरन्तर जारी राख्ने बताए ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का अध्यक्ष नेत्र रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापालको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा बोल्दै सुस्ता बचाउ अयिभानका अभियान्ताहरुले कालापानी, लिपुलेक, लिम्पुवाधुराको जस्तै सुस्ताको आवाज सरकारले उठाउन नसकेको भन्दै गुनासो गरेका थिए ।
उनीहरुले सरकारले सुस्ताबासीलाई नागरिकता उपलब्ध नगराउँदा सुस्ताबासीहरु नेपाल सरकारबाटै थप पीडित हुनु परेको भन्दै गुनासो गरेका थिए ।
नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले सुस्तामा प्रदेश स्तरीय सभा गरेको थियो ।





























