‘ठूला मिडिया साम्राज्यवाद र विस्तारवादको दलालीमा लागेका छन्’

प्रकाशित मिति : २०७६ श्रावण २७


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले ठूला मिडिया साम्राज्यवाद र विस्तारवादको दलालीमा लागेको टिप्पणी गरेका छन् । महासचिव किरणले मिडियामा अपारदर्शी रुपमा साम्राज्यवादी र विस्तारवादीहरुको लगानी भित्रिरहेको समेत दावी गरे ।

काठमाण्डौको घट्टेकुलोस्थित इच्छुक प्रतिष्ठानमा आयोजित क्रान्तिकारी पत्रकार महासंघको ऐतिहासिक राष्ट्रिय सम्मेलनपछिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव किरणले राष्ट्रियताको सवालमा समेत मिडिया सम्वेदनहीन बनेको बताए ।

त्यस्तै मिडिया ब्यवस्थित नभएको मौका पारेर सरकारले मिडिया काउन्सिल विद्येयक ल्याएको उल्लेख गर्दै महासचिव किरणले त्यो सरकारी रबैया पनि गलत रहेको बताए । ओली प्रचण्डको पार्टीलाई हेरेर कम्युनिष्टहरु खत्तम र काम नलाग्ने छन् भन्ने प्रचार गरिदैछ – महासंघ आबद्ध पत्रकारलाई निर्देशन दिदै महासचिव किरणले भने– अब क्रान्तिकारी पत्रकारले आफनो भुमिका बढाउनुपर्दछ ।

फरक प्रसंगमा महासचिव किरणले सरकारलाई मिडियाले आलोचना गर्न थालेपछि सरकारको नेतृत्व गर्नेहरुमा मिडियालाई चिढ्यायो भने सरकार ढल्छ भन्ने त्रास रहेको विश्लेषण गरे । सरकारको डिफेन्सका कोही छैन केपी ओली र गोकुल बास्कोटाको मात्र एकहोरो रटान छ – महासचिव किरणले भने –उनीहरुको सरकारी मिडिया समेत डिफेन्समा छैन ।

महासचिव किरणले मिडियाले क्रान्तिकारी पार्टी र नेतृत्वको बिरुद्ध बिषवमन गर्दा क्रान्तिकारी पत्रकारले डिफेन्स गर्ने क्षमता राख्नुपर्ने सुझाब दिए ।

क्रान्तिकारी पत्रकार महासंघको बैठकलाई क्रान्तिकारी माओवादीयका स्थायी समिति सदस्य रामसिंह श्रीस, संगठनका सल्लाहकार हिरामणि दुखीले समेत सम्बोधन गरेका थिए । २४ र २५ साउनमा सम्पन्न क्रान्तिकारी पत्रकार महासंघको बैठकले संगठन र संघर्षसम्बन्धी महत्वपूर्ण निर्णय गरेको सम्बद्ध संगठनले जनाएको छ । निर्णयहरुलाई वक्तव्यमार्फत् सार्वजनिक गरिने संगठनका महासचिव रामकुमार श्रेष्ठले बताए ।