अमेरिका–चीन व्यापार युद्ध : विश्व अर्थव्यवस्थामा संकटको खतरा

प्रकाशित मिति : २०७६ श्रावण १८


न्यूज एजेन्सी । अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्ले चीनबाट आयात गरिने उत्पादनमा ३०० अर्ब डलर शुल्क लगाउने घोषणा गरेको छ । यो आयात शुल्क सेप्टेम्बरबाट लागू हुनेछ । अमेरिकाले चीनबाट आयात गरिने उत्पादनमाथि यसभन्दा अगाडि नै २५० अर्ब डलरको आयात शुल्क लगाइसकेको छ ।

अमेरिका र चीनका बीच चलिरहेको यस व्यापार युद्धका कारण चीनको विकासको दरमा गिरावट आउन थालेको विश्लेषण हुन थालेको छ । आयात शुल्कको दरमा बृद्धि भएपछि चीनको उत्पादित वस्तुको निर्यातमा धेरै कमी आएको छ । यस व्यापार युद्धकै कारण विश्वभरमा मन्दीको खतरा मडारिन लागेको पनि विश्लेषण गर्न थालिएको छ । यी दुई देशको बीचमा चलिरहेको व्यापार युद्धमा ट्रम्पको पछिल्लो घोषणाले अझ बढी कटुता उत्पन्न गराउने देखिन्छ ।

नयाँ आयात शुल्कको प्रभाव सेप्टेम्बरको पहिलो हप्ताबाट सुरु हुनेछ । यसपछि चीनबाट आयातित हुने सबै समानमा कर लाग्नेछ । अर्थात् स्मार्टफोनदेखि कपडासम्मका सबै अमेरिका निर्यात गरिने सामान करको दायरामा पर्नेछ ।

चीनले ग¥यो विरोध
चीनका विदेश मन्त्री वाङ यीले अमेरिकाको यस कदमको आलोचना गरेका छन् । बैंककमा दक्षिण–पूर्व एशियाली देशहरुको मन्त्री स्तरीय बैठकको अवसरमा वाङले भने, “आयात शुल्क लगाउनु आर्थिक तथा व्यापारिक सम्बन्धमा उत्पन्न खटपटको समाधान गर्ने सकारात्मक तरिका होइन ।”

ट्रम्पले आयात शुल्कको घोषणा आफ्नो ट्व्वीटरमा पनि घोषणा गरेका छन् । यसमा उनले चीनमाथि अरु धेरै अमेरिकी कृषि उत्पादनहरु किन्ने वाचाको सम्मान नगरेको आरोप लगाएका छन् ।

ट्रम्पले पत्रकारहरुसँग भनेका छन् कि १० प्रतिशत आयात शुल्क एक अल्पकालीन उपाय हो र आगामी दिनमा यो कर बढाएर २५ प्रतिशतसम्म बढाउन सकिन्छ । उनले भने, “चीनसँग यो धेरै पहिलेदेखि नै लागु गर्नुपर्ने थियो ।”

अहिलेसम्म देखिएको असर
यस आयात शुल्कको घोषणासँगै आर्थिक बजारमा गिरावट देखिन थालेको छ । वाल स्टिटको डाउ जोन्स शेयर इन्डेक्समा १.१ प्रतिशतको गिरावटसँगै बन्द भयो भने एशियाली बजारमा शुक्रबार धेरै गिरावट देखियो । तेलको मूल्य धराशायी भयो । ३० लाखभन्दा बढी कम्पनीहरुको प्रतिनिधित्व गर्ने अमेरिकी चेम्बर अफ कमर्सले भन्यो कि चीनमाथि लगाइएको यस नयाँ आयात शुल्कले अमेरिकी व्यापार, किसानहरु, कर्मचारीहरु, ग्राहकहरुमा नराम्रो असर पर्नेछ र साथै यसबाट मजबुत अमेरिकी अर्थव्यवस्था कमजोर हुनेछ ।
बिहीबार ट्रम्पका पूर्व आर्थिक सल्लाहकार गैरी कोहनले बीबीसीसँगको एक अन्तर्वार्तामा भनेका छन् कि यस लडाइँबाट अमेरिकी म्यान्युफ्याक्चरिङ (विनिर्माण) र पुँजी लगानीमा नराम्रो असर परिरहेको छ । यसको असर अमेरिकाको केन्द्रीय बैंक, द फेडरल रिजर्वको ब्याज दररेटमा गरिएको कटौतीमा पनि पर्नेछ ।

 टाउको दुखाइ
फेडरल रिजर्वका अध्यक्ष जेरोमी पावेलले भनेका छन् कि अमेरिकी व्यापार नीतिको आलोचना गर्ने काम केन्द्रीय बैंकको होइन, तर साथै यो पनि भने कि मई र जून महिनामा व्यापारिक चिन्ता बढेर गएको छ ।

ट्रम्पले भने कि उनको व्यापार नीतिले काम गरिरहेको छ र बेइजिङमा यसको असर परिरहेको छ । तर यसबाट चीनमाथि मात्रै प्रभाव परिरहेको छैन । अन्तर्राष्ट्रिय मुद्राकोषले चेतावनी दिएको छ कि अमेरिका–चीन व्यापार युद्ध विश्वको अर्थव्यवस्थाको लागि ठूलो संकट हो । यसबाट पनि प्रष्ट हुन्छ कि व्यापार युद्धले अमेरिकी अर्थव्यवस्थालाई पनि प्रभावित पारिरहेको छ । पछिल्लो हप्ता जारी गरिएको आँकडा अनुसार विगतको वर्षको तुलनामा अमेरिकी अर्थव्यवस्थामा कम वृद्धि भएको छ । आँकडाका अनुसार यस व्यापार युद्धका कारण व्यापार र लगानीमा कमी आएको छ । अमेरिकी कम्पनीहरुले विस्तार र लगानीमा रोक लगाएका छन् । यस विकसित परिस्थितिबाट लगानीकर्ता धेरै तनावमा रहेका छन् र उनीहरुले चिन्ता जनाइरहेका छन् । व्यापार युद्धको प्रभाव जापान र दक्षिण कोरियामा पनि देखिन थालेको छ ।

कसरी सुरु भयो व्यापार युद्धको सिलसिला ?
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै चीन र अमेरिकाका बीच व्यापारिक मतभेद सुरु भएको थियो । २०१६ मा आफ्नो राष्ट्रपति चुनावको लागि प्रचारको क्रममा ट्रम्पले चीनमाथि बारम्बार चीनको सामान अमेरिकी बजारमा डम्प गर्ने र अमेरिकी बौद्धिक सम्पदा चोरीको आरोप लगाए । ट्रम्प चीनसँग अमेरिकी व्यापार घाटालाई कम गर्न चाहन्छन् । उनको भनाइ छ यस व्यापारघाटाबाट अमेरिकी विनिर्माणमा क्षति पुगिरहेको छ । वितेको एक वर्षमा दुवै देशले एक अर्काको उत्पादनमा अरबौं डलरको कर लगाएका छन् । पटक–पटकको द्विपक्षीय वार्ताका बाबजुद विश्वका दुई ठूला अर्थव्यवस्थाहरु व्यापार युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न असफल बनिरहेका छन् । यसबाट विश्वको अर्थव्यवस्थामा पनि संकटको बादल मडारिन थालेको छ ।