काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाको नेतृत्वमा ७ फागुनदेखि जारी मेची–महाकाली अभियानकै बीचमा सहिद सप्ताह मनाउने भएको छ । फागुन १४ देखि २१ सम्मलाई क्रान्तिकारी माओवादीले सहिद सप्ताहको रुपमा जनयुद्ध तथा जनआन्दोलन, झापा विद्रोहलगायत सबै सहिदहरुको सम्झना र सम्मानमा सहिद सप्ताह मनाउँदै आएको छ ।
सहिद तथा वेपत्ता योद्धा परिवारसँग भेटघघाट तथा अन्तक्र्रिया, सम्मान, जनयुद्धका सहिदहरुलाई ‘राष्ट्रिय सहिद’ घोषणा गराउन र राहत तथा उचित व्यवस्थापनका निम्ति सहिद तथा वेपत्ता योद्धा परिवारहरुलाई संगठित तथा आन्दोलित गर्ने लगायतका कार्यक्रमसहित क्रान्तिकारी माओवादीले जारी अभियान सँगसँगै सहिद सप्ताहका कार्यक्रमलाई भव्य रुपमा सञ्चालन गर्ने तयारी गरेको सम्बद्ध स्रोतले जनाएको छ ।
२०५२ साल फागुन १४ गते गोरखाको पन्द्रुङ्गमा तात्कालीन राज्यपक्षबाट हत्या गरिएका ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेल (जनयुद्धका प्रथम सहिद) र झापा विद्रोहका सहिदहरु रामनाथ दाहाल, वीरेन्द्र राजवंशी, कृष्ण कुँईकेल, नारायण श्रेष्ठ र नेत्र घिमिरे, जसलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा हत्या गरिएको फागुन २१ गतेको दिनको सम्झानामा फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउने गरिएको छ ।