
दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) दैलेखको चामुण्डाविन्द्रासेनी नपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले सत्तारुढ केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’हरु कम्युनिस्ट होइनन् भनेका छन् उनले उनीहरुलाई विदेशी दलाल भएको आरोप लगाएका छन् । दैलेखको चामुण्डाविन्द्रासैनीमा भएको जनसभालाई शुक्रबार सम्बोधन गर्दै नेता श्रीसले यस्तो बताएका हुन् ।

ओली नेतृत्वको सरकारले दलाल र भ्रष्टहरुलाई संरक्षण गर्ने र विदेशीहरुको दलाली गर्नेभन्दा अरु केही नगरेको भन्दै नेता श्रीसले उनीहरुले आफूलाई कम्युननिस्ट र वाम भनेर जनतामा भ्रम छर्ने काम मात्रै गरेको बताए । ओली सरकारको एक वर्षे अवधिको सबै सुचकांकले यो सरकार पूणृतः असफल भएको दावी गर्दै उनले अब जनताले विकल्पको खोजी गर्न थालेको र अबको विकल्प भनेको नेकपा (क्रान्तिकारी माओवादी) र जनताको संघीय गणतन्त्र नै भएको समेत दावी प्रस्तुत गरे ।

सभालाई क्रान्तिकारी माओवादीका केस तथा कर्णाली प्रदेशका कार्यवाहक सचिव कृष्ण गुरुङ, केस तथा दैलेख इन्चार्ज दिपकबहादुर शाहीलगायतका नेताहरुले सम्बोधन गर्दै मुलुकमा दलाल, तस्कर र माफीयाहरुको राज भएको भन्दै त्यस्ता प्रवृतिका विरुद्ध जनकारबाहीको प्रकृया अघि बढाउन आवश्यक रहेको र पार्टीले त्यसको थालनी पनि गरिसकेको बताएका थिए ।

जनसभा आयोजक नगर कमिटीका सेक्रेटरी मोहन शाहीको अध्यक्षतामा सम्पन्न उक्त जनसभामा जिल्ला सेक्रेटरी विरेन्द्र शाही अशोक लगायतले समेत सम्बोधन गरेका थिए भने सभाको सञ्चालन विश्वप्रकाश चौलागाईले गरेका थिए ।

जनसभामा क्रान्तिकारी माओवादीको कर्णाली प्रदेश सदस्य गंगे कामी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सदस्य कमलाचन्द्र शाही, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हिक्मत शाही, हिमाल बिक, क्रान्तिकारी युवा लिग दैलेखका संयोजक सुरेन्द्र विक लगायतको उपस्थिति रहेको थियो ।
सभामा विभिन्न पार्टी परित्याग गरी दर्जनौंको संख्यामा पार्टी प्रवेश गरेका थिए । सभाका प्रमुख अतिथि तथा पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीसलगायत अतिथिहरुले अवीर माला लगाएर पार्टी प्रवेश गराएका थिए । सभामा स्थानीय जनसमुदायको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।





























