दाङ तुलसीपुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ पुग्यो

दाङ । दाङको तुलसीपुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृतकमध्ये ६ जनाको मात्र सनाखत भएको छ । दाङको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरु शैक्षिक भ्रमणमा गएको बस राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार साँझ दुर्घटना भएको थियो । सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस राम्रीमा सडकबाट ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । यसै बर्षदेखि घोराही उपमहानगरपालिका १७ गैरागाउँमा सञ्चालित कलेजमा वन विज्ञान अध्ययनरत बिद्यार्थी र शिक्षकहरु स्थलगत अवलोकनका लागि शुक्रबार विहान कपुरकोट गएका थिए । फर्कने क्रममा बस दुर्घटनामा परेको थियो ।

मृतकमध्ये गाडी चालक घोराही उपमहानगरपालिका ३ का ३२ बर्षीय मदन केसी, कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही १७ का २८ वर्षीय प्रदिप घिमिरे र भूमे गाउँपालिका ६ पूर्वी रुकुमका २८ वर्षीय नरेश ओलीको खनाखत भएको छ । यस्तै दंशिशरण गाउँपालिका १ दाङका ३० वर्षीय सञ्जिव रत्गैया र घोराही १४ का १७ बर्षीय विजय जिएमको मृत्यु भएको छ । अन्यको सनाखत हुन बाँकी छ । गाडीमा ३४ बिद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना सवार रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका १४ मध्ये १३ जनाको कोहलपुर मेडिकल कलेज र एक जनाको नेपालगञ्जमा उपचार भैरहेको छ ।

इच्छुक बहुप्राविधिक शिक्षालयमा वन विज्ञान संकायमा भर्ना भएका पहिलो सत्रका ३७ जना विध्यार्थीमध्ये ३१ जना शैक्षिक भ्रमणमा गएका थिए । भ्रमणका गएका सल्यान घर भएका एक विध्यार्थी उतै ओर्लिएर घर गएका थिए भने ३० विध्यार्थी, दुई शिक्षक र दुई चालक दुर्घटनामा परेका थिए । नमस्ते यातायात प्रा.लि.को गाडी दुर्घटनामा पर्नुका कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।