नेपालमा राष्ट्रिय स्वाभिमानको प्रश्न फेरि एकपटक केन्द्रीय प्रश्न बनेर देखा परेको छ । नेपालीहरु माझमा विस्तारै यो प्रश्न झांगिदै र मौलाउँदै गइरहेको छ । यद्यपि यो प्रश्न नेपालमा लामो समयदेखि र लामो समयसम्म सदावहार प्रश्नको रुपमा देखा भने परिरहने छ ।
यसका खास कारणहरु छन् जसका कारणले नेपालको राष्ट्रियताको प्रश्न निरन्तर उठ्ने र उठाइने गरिइरहेका छन् । यो प्रश्न नेपालको सन्दर्भमा भारत विरोधीका साथै अमेरिका विरोधी पनि रहँदै आएको छ । प्रश्न यहाँ नेपालको राष्ट्रियताको प्रश्न किन भारत विरोधी बनिरहन्छ र चीन वा अन्य छिमेकी देशको विरोधी बन्न जाँदैन ? नेपाली राष्ट्रियता भारतविरोधी बन्नुका ठोस कारणहरु यस प्रकार रहेका छन् ।
यसको पहिलो कारण हो, माटोको रक्षा । यो प्रश्न भारतले हरेक दिन अतिक्रमण गरिहने देशको सीमा अतिक्रमण, तिनको रक्षाको प्रश्न, अतिक्रमित सीमामा जमीन लुटिएकै कारण हातमा नेपाली लालपूर्जा भारतमा जमीन हुनपुग्दा दुःख पाइरहेका नेपाली जनता र तिनको पीडा तथा माटो रक्षाका बारेमा बेखबर रहेका र वेवास्ता गरिरहेका नेपाली अनुहारका भारतीय दलाल शासकहरुसँग एकदमै जेलिएर देखा परेको छ । सुगौलीको सन्धिदेखि आजका दिनसम्म लुटिएको नेपाली जमिन जसको क्षेत्रफलमा एक दर्जन सिंगापुर बन्न सक्छन्, तिनको दर्दनाक पीडा लुकेको छ ।
दोस्रो कुरा हो, नेपाली स्वाभिमानमाथि हमला । यो हमला नेपालको उत्तरदक्षिणमा रहेका विसाल छिमेकी देशहरुमध्ये भारतबाटै एकतर्फी रुपमा नेपाली स्वाधीनतामाथि हमला हुने गरेको छ । नेपालका राष्ट्रिय विभूतिहरु, ऐतिहासिक महत्वका स्थलहरुमाथि भारतले बारम्बार धावा बोल्ने गरिरहेको छ । लुम्बिनी भारतमा पर्छ भन्ने अभिव्यक्ति दिने, जनकपुर अयोध्यासँग जोडेर सिध्याउन खोज्ने, सगरमाथा समुन्द्रसँग जोडिएको छ भनेर विवादास्पद अभिव्यक्ति दिने र तिनका नेपाली दलालहरुले नेपाल अब भूपरिवेष्ठित देश रहेन भनेर सरकारी सञ्चारमाध्यमहरुमा प्रचार गर्न लगाउने आदि कुराले नेपाली स्वाभिमानमाथि दख्खल पुगिरहेको छ । नेपालीहरुको आत्म स्वाभिमानमाथि चोट पुगिरहेको छ ।
तेस्रो करा हो, नेपालको शासन प्रशासनको सबैभन्दा माथिल्लो तहमा छानिएका भारतभक्तहरु रहेका हुन्छन् । तिनीहरु दिल्लीको निर्देशनमा चल्ने र चलाइने गर्दछन् । त्यसैले तिनीहरुले देशको विकास होइन, सधैं देशको अवनति हुने काम गर्दछन् । तिनीहरुले जनतामा भ्रम छर्ने र जनतालाई गलत बाटोमा डोर्याउने काम गरिरहेका हुन्छन् । त्यो काम सधैं भारतबाट निर्देशित हुँदै आएको छ । केपी ओली सरकारको अवश्यंभावी पतन पनि यहीबाट हुने निश्चित जस्तै भएको छ ।
चौथो कुरा, भारत एकदमै सक्ष्म व्यवस्थापनमा लागेको छ । नेपालमा दलाल तथा कठपुतली सरकार निर्माणदेखि राज्यका हरेक संयन्त्रहरुमा प्रमुखहरुदेखि सेक्सनल अफिसर र पियनसम्म पनि आफूले किनेको मान्छे फिट गर्न भारतले चासो लिने र गर्ने गरिरहेको छ । नेपालका सरकार स्वयम् दलाल हुने भएकाले यसले दिल्लीबाट सिफारिश गरिएका तिनै मान्छेहरुलाई विशिष्ट पोष्टहरुमा नियुक्त गर्दछ ।
पाँचौ कुरा के छ भने भारतले नेपाललाई एक स्वतन्त्र तथा सार्वभौम राष्ट्रका रुपमा व्यवहार गर्न पनि चाहदैन । यसले नेपालमा सामाजिक, सांस्कृतिक, आर्थिक र कुटनीतिक तथा अन्य सबै हिसावले उपनिवेश र हस्तक्षेप कायम गर्न चाहन्छ । यो दलाल शासकहरु बाहेका जनतालाई कहिल्यै पनि स्वीकार्य छैन र भएन पनि ।
छैठौं र सबैभन्दा महत्वपूर्ण आत्मगतकारण भनेको नेपालमा देशभक्त तथा क्रान्तिकारी शक्तिहरु छन् । जनतामा देशभक्तिको भावना पाइन्छ । नेपाली जनताले पराइको अतिक्रमण, छहारी र हस्तक्षेप पटक्कै रुचाउँदैनन् । यसले गर्दा जनतामा नेपाली मौलिकपन यथावत रहेको छ ।
यही आत्मगत अवस्थाले नै नेपालको राष्ट्रियताको निर्माण, संरक्षण, सम्बद्र्धन र यसको कार्यान्वयन गर्न खोजिहेको देखिन्छ । हालसम्म भएका प्रजातान्त्रीकरण, गणतान्त्रीकरण र जनवादी गणतन्त्र स्थापनाका साना ठूला सबै आन्दोलनहरुमा यही देशभक्ति तथा राष्ट्रियताको भावनाले सार तथा आत्माको काम गरेको छ ।
त्यसैले नेपालको राष्ट्रियता स्वतः भारतविरोधी हुने गरेको छ ।