अन्ततः नेपाललाई हवाइ रुट दियो भारतले

अन्ततः नेपाललाई हवाइ रुट दियो भारतले

काठमाडौं, जेठ २ । लामो गृहकार्य र आपसी छलफलपछि अन्ततः भारतले नेपाललाई हवाइ रुट उपलब्ध गराएको छ । नयाँ सहमतिअनुसार भारतले नेपालको तार स्थानबाट हवाई प्रवेश विन्दु उपलब्ध गराउने भएको हो ।

भारतीय आकाशबाट नेपाल प्रवेश गर्ने एकमात्र हवाइ रुट सिमराबाहेक अरु रुटको स्वीकृति भारतले नदिएकाले नेपाली आकाशमा ठूलो ट्राफिक जाम र दूर्घटनाको समस्या बढेको थियो । हाल भएको सहमतिअनुसार भारतले नेपाल आउने जहाजलाई महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विरगञ्जबाट पनि आउन दिने भएको छ ।

यो पछिल्लो सहमति भएपछि इन्धनको बचत, दूर्घटनाको समस्यामा धेरै कमी, एयर ट्राफिक जामको हल तथा नेपाली भूपरिवेस्ठित देशले पाउनु पर्ने अधिकार आदि कुरामा सहजता आएको छ ।

सन् २०१६ मा निकै चासो र चिन्ताका रुपमा नेपालले भारत सरकारसामु राखेको माग भारतीय सरकारले सुनुवाइ गरेको थिएन । यसैलाई वैशाखमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको बेला उठाइए पछि हालमात्र सहमति जुटेको हो ।

सहमति अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानस्थल प्राधिकरणका अधिकारीबीच बिहिबारदेखि काठमाडौंमा भएको वार्ताले हवाई रुटको प्राविधिक अध्ययन गरी कार्यान्वयनमा ल्याउने सहमति जनाएका छन् ।