ओली र प्रचण्डले भनेको समाजवाद प्रतिक्रियावाद होः गजुरेल

ओली र प्रचण्डले भनेको समाजवाद प्रतिक्रियावाद होः गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले ओली र प्रचण्डले भन्ने गरेको समाजवाद वास्तविक समाजवाद नभइ दलाल पुँजीवादमा आधारित प्रतिक्रियावादी व्यवस्था भएको दावी गर्नुभएको छ । सोमबार ललितपुरको कुपण्डोलमा क्रान्तिकारी माओवादीको काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको “शहीद वेपत्ता परिवार सम्मान” कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले यस्तो दावी गर्नुभएको हो ।

नेपालमा नयाँ ढंगले प्रतिक्रान्ति हुन पुगेको बताउँदै नेता गजुरेलले क्रान्तिको मूल नेतृत्वनै प्रतिक्रान्तिको पनि मूल नेतृत्व बन्न पुगेको कुरा बताउनु भयो । दशवर्ष लामो जनयुद्ध देशमा जनगणतन्त्र ल्याउनको लागि भएको स्मरण गर्दै नेता गजुरेलले त्यो उद्देश्य तर्फ क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर मात्र शहीद, वेपत्ता तथा घाइते योद्धा लगायत परिवर्तनका पक्षधर जनताको सपना पुरा गर्न सकिन्छ । यसरी मात्रै साँचो अर्थमा सम्मान पनि हुन सक्छ । “शहीद तथा वेपत्ता योद्धाहरुको सपना पुरा गर्न हामी बाँचेकाहरुको दायित्व हो ।” नेता गजुरेलले भन्नुभयो ।

पार्टी के.स. तथा काठमाडौं जिल्ला सचिव शारदा महतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, शहीद तथा वेपत्ताको तर्फबाट वेपत्तायोद्धा रेणु दुलालका बुवा चन्द्रलाल दुलाल लगायतले संम्वोधन गर्नु भएको थियो । ललितपुरका पार्टी सचिव श्याम केसीले संचालन गरेको उक्त कार्यक्रममा स्थायी समिति सदस्य हरिभक्त कँडेल, पिविएम पवनमान श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा क्रान्तिकारी माओवादी भक्तपुर पार्टी सचिव श्रीकृष्ण सुलुले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमा शहीद तथा वेपत्तायोद्धा परिवारका सदस्यहरुलाई सम्मान पत्र प्रदान तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।