काठमाडौं, १९ माघ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा सहयोग नगरे ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् कटौती (ब्ल्याक आउट) गर्ने चेतावनी दिएको छ । प्राधिकरणका अनुसार ललितपुरका विभिन्न स्थानबाट निरन्तर भइरहेको विद्युत् चोरीका कारण वार्षिक करिब ५० करोड रुपैयाँ महसुल गुमाउनुपरेको छ ।
ललितपुरका विभिन्न स्थानमा संगठित रूपमा विद्युत् चोरी भइरहेको भन्दै नियन्त्रणमा सहयोग नगरे विद्युत् कटौतीको चेतावनी दिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षौंदेखि संगठित रूपमा विद्युत् चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत् चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिएको बताए । ‘राजधानीकै उपभोक्ता संगठित रूपमा विद्युत् चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य हो । १५ दिनभित्र चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुनेछौं,’ उनले भने, ‘जस्तोसुकै दबाब आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौं । राजधानीलाई विद्युत् चोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिन्छ ।’
प्राधिकरणद्वारा जारी विज्ञप्तिअनुसार ललितपुरको भित्री सहरसहित विभिन्न क्षेत्रमा निरन्तर विद्युत् चोरी भइरहेको छ । पाटन स्थानीय फिडरअन्तर्गत लुखुँसी, च्यासल, मंगलबजार, इखालखु, धालाछें, सौगल, दुपाट, पिन्छे, पिलाछेलगायतका स्थानमा संगठित रूपमा विद्युत् चोरी भइरहेको प्राधिकरणले जनाएको छ । गोदावरीतर्फ विद्युत् आपूर्ति हुने फिडरअन्तर्गत हरिसिद्धि, गुहीटोल, ठैव, बाडेगाउँ, लुभू जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभूबजार, लाँकुरीभन्ज्याङमा अत्यधिक विद्युत् चोरी हुने क्षेत्र रहेको प्राधिकरणले जनाएको छ । ‘यसैगरी चापागाउँ जाने फिडरअन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँलगायतका क्षेत्रका बासिन्दाले संगठित रूपमा विद्युत् चोरी गरेको फेलापरेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको हो,’ घिसिङले भने ।
उक्त क्षेत्रमा औसत विद्युत् चोरी ५० प्रतिशत छ । चोरीका लागि विभिन्न उपाय अपनाउनुपरेकाले उपभोक्ताले जोखिमपूर्ण रूपमा विद्युत्को प्रयोग गरिरहेका छन् । ‘यसरी प्रयोग गरिएको विद्युत् असुरक्षित हुने हुँदा ठूलो दुर्घटनासमेत हुने सम्भावना उत्तिकै छ,’ प्राधिकरणले भनेको छ । विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिनेलगायतका काम संगठित रूपमै भइरहेको प्राधिकरण लगनखेल वितरण केन्द्रका प्रमुख वीरेन्द्र सिंहले बताए ।
‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठित रूपमै हाम्रा कर्मचारीमाथि आक्रमण हुने गरेको छ,’ उनले भने, ‘यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग पनि उत्तिकै चाहिन्छ ।’ प्राधिकरणका अनुसार चोरी नियन्त्रणका लागि विद्युत् वितरणको नांगो तारको सट्टा माइन्सुलेटेड एबीसी केबल फेर्ने, सडक बत्ती मिलाउने, ट्रान्सफर्मर फेर्नेलगायतका काम भइरहेको छ ।
चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङ आफैं अग्रसर भएर अभियानमा सहयोगको आग्रह गर्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, प्रहरी प्रमुखसँग छलफल गरिरहेका छन् । उनले ललितपुरलाई विद्युत् चोरीमुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्ण रूपमा सहयोग गर्न आग्रह गरेका छन् । ‘चोरी नियन्त्रणका लागि आवश्यक प्रणाली सुधारका लागि व्यापक कदम चालिएको छ,’ उनले भने, ‘स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधि र प्रशासनले पनि सहयोग गरिदिनुर्पयो ।’
प्राधिकरणले उपभोक्तालाई समेत विद्युत् चोरी नगर्न र गरिएको फेला पारेमा कानुनी कारबाही गरिने चेतावनी दिएको हो । त्यसका लागि पोस्टर टाँस्ने, माइकिङलगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘ललितपुरमा जस्तै भक्तपुर क्षेत्रमा पनि चोरी व्यापक रहेको र यस क्षेत्रमा पनि क्रमिक रूपमा चोरी नियन्त्रणका आक्रामक कार्यक्रमहरू सञ्चालन गरिनेछ,’ घिसिङले भने ।
प्राधिकरणको तथ्यांकअनुसार गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत् चुहावट छ । चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको प्राधिकरणले जनाएको छ । तीन वर्षभित्र चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणले राखेको छ । आजको कान्तिपुरमा यो समाचार छ ।