जीतगढी किल्ला हालको प्रदेश नम्बर ५ अन्तर्गत बुटवलस्थित एक सामरिक तथा ऐतिहासिक महत्व बोकेको किल्ला हो । यो पुरानो बुटवल बजार वा तात्तकालीन बटौली बजारको सिरानमा छ । तर नेपाल सकारले यसको संरक्षण र सम्बद्र्धनमा न त चासो देखाएको छ, न त स्थानीय संघ÷संस्था र स्थानीय जनताले यसको संरक्षण र यसको प्रचारप्रसारलाई राष्ट्रियस्तरमा नै उठाउन सकेका छन् ।
जीतगढी किल्ला वीर गोर्खालीको पहिचानको किल्ला हो । सन् १८१६को सुगौली सन्धिहुँदाका दिनसम्म नेपालीहरुले आफ्नो स्वाभिमानका लागि रगत चढाएका ऐतिहासिक किल्लाहरुमध्येकोएक हो । यो किल्लाको संरक्षण र लडाइँको जिम्मा कर्णेल उजिरसिंह थापाले गरेका थिए । ब्रिटिश एण्डिया कम्पनीसँगको उक्त लडाइँमा उनले सो किल्लाको संरक्षण मात्र गरेनन्, बरु भातीय सीमाना स्युराजबाट तिनहुँ नदीको बायाँबाट किनारै किनारहुँदै बटौलीको बस्तीसम्मघुस्न सफल अंग्रेज सेनालाई धूलो चटाएर दिल्ली फिर्ता गराएका थिए । यो लडाइँ एकपटक मात्र टुंगिएको थिएन । जीतगढी किल्लाबाट अंग्रेजविरोधी यो लडाइँ कैयौं पटक लड्नु परेको थियो ।
आज भन्दा करिब २०० वर्षअघि लडिएको यो लडाइँ आज स्वर्णिम इतिहासमा परिणत भएको छ । हामी नेपालीका लागिजीत र गौरवपूर्णशानका रुपमा रहेको यो ऐतिहासिक किल्ला ब्रिटिश इण्डिया र हालको इण्डियाका लागि बेइज्जत र अपमानको इतिहासका रुपमा रहेको छ । हामी नेपाली यो इतिहास र शानका प्रतीकहरु संरक्षण गर्ने र बचाइराख्ने पक्षमा छौं भने तात्कालीन अवस्थामा धूलो चटाइएको पक्ष यो अपमानलाई धूलोमा मिलाइदिने ध्याउन्नमा छ ।
जीतगढी र राष्ट्रिय स्वाधीनताको प्रश्न
जीतगढी मध्यपश्चिम नेपालस्थित सबै नेपालीका लागि स्वाभिमानपूर्ण पहिचान हो । यसले पश्चिम नेपालको स्वत्व, अस्तित्व र अपनत्व झल्काउँछ । साथै, गौरवपूर्ण वीरताको नेपाली इतिहासको मालामा गाँस्दछ ।
समग्रमा नेपाली जनता र विशिष्टतामा पश्चिम नेपालका जनता वीरताको यो ऐतिहासिक धरोहरलाई रक्षा गर्न एकताबद्ध हुनु जरुरी छ ।
जीतगढी ः एक ऐतिहासिक सम्पदा
जीतगढीेले सामरिक तथा पुरातात्विक महत्व बोकेको छ । यसले सांस्कृतिक महत्व पनि बोकेको छ । यसले नेपालको वीरतापूर्ण संस्कृतिको प्रतिनिधित्व पनि गर्दछ । जीतगढी किल्ला र मणिमुकुन्द सेन दरबार एकआपसमा जोडिएका छन् । हाल आएर यी दुवैको करीब ३ बिगाह जमीनमा भारतीय सैनिक पेन्सन क्याम्प रहेको छ । यसले जीतगढी किल्ला र मणिमुकुन्द सेन दरवारको क्षेत्रलाई निकै अप्ठेरो पारेको छ ।
कसले चढाए नजराना ?
पहिले सैनिक पेन्सन वितरण कार्यालयका रुपमा रहेको उक्त क्याम्प अहिले पेन्सन पेइङ क्याम्पका रुपमा स्वीकार गरिएको छ । २०७३ चैत्र १७ गते तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले यो निर्णय गरी अधिकार सुम्पिएको हो । त्यसपछि २०७४ भाद्र १९ गते नेपालका लागि भारतीय राजदूत मन्जिव सिंहले यो अफिसको विधिवत् शिलान्यास उद्घाटन गरेका छन् । यसले यस क्षेत्रका नेपालीहरुलाई गम्भीर बनाएको छ ।
जीतगढी र मणिमुकुन्द सेन दरबारको करीब ३ बिघा जमीन दिइएको भने पनि तात्कालिन प्रचण्ड मन्त्रीमण्डलको निर्णयले त्यहाँको ७ बिघा जमिन उक्त पेन्सन पेइङ क्याम्पलाई दिएको प्रष्ट देखिन आउँछ ।
अब के गर्ने ?
स्वाभिमानी नेपालीको अबको दायित्व भनेको यो जीतगढी किल्ला र मणिमुकुन्दसेन दरवारको एक इञ्च पनि जमीनको सुरक्षा गर्ने र पेन्सन क्याम्प बुटबल बजारमा सारेर घर भाडामा नेपाल सरकारले दिने गराउन आन्दोलन सिर्जना गर्नुपर्छ ।