कन्चनपुर । नेकपा(क्रान्तिकारी माओवादी) कन्चनपुरले एक प्रेस वक्तव्य जारी गरी जिल्ला अन्तर्गत नगर विकास समितिले गरेको भ्रष्टाचारको छानविन गर्नुको सट्टा उल्टै सो कार्यलाई प्रोत्साहन गरी केही भू–माफियाहरुका नाममा घडेरी विक्री वितरण गरी चुनावको मौका छोपी धमाधम भवन निर्माण कार्य भईरहेको भन्दै सो कार्यको घोर भत्र्सना गरेको छ ।
क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी हरि सुवेदीले मंगलबार जारी गरेको वक्तव्यमा उक्त कार्यलाई तत्काल रोकी आवश्यक छानवीन प्रक्रिया अगाडि बढाउन प्रशासन समक्ष जोडदार माग गर्नुको साथै उक्त कार्यको सम्बन्धित पक्षबाट छानविन नभएको खण्डमा त्यसबाट पर्न जाने क्षतिको जिम्मा स्वयंम प्रशासनले लिनुपर्ने चेतावानी समेत दिइएको छ ।
वक्तव्यमा मुलुक यतिबेला चरम राजनीतकि संकटबाट गुज्रिरहेको छ । राज्यभित्र व्यापक दलालीकरण, भ्रष्टचार, महंगी, कालो बजारी एवम् खाद्यान्न संकट र दैनिक उपभोग्य वस्तुमा भएको मुल्य वृद्धिले आम जनताले प्रत्यक्ष रुपमा यसको सास्ती भोगिरहेका छन् । संविधानको घोषणा सँगै स्थानीय निर्वाचन र अहिले हुदै गरेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरुले जनताका यि विविध समस्याहरुलाई हल गर्नुको साट्टो लाखौं पैसा खर्च गरी कसरी चुनाव जित्ने भन्ने दौडधुपमा लागि परेको समेत उल्लेख गरिएको छ ।