काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एमाले र माकेबीचको गठबन्धन वामपन्थी नभएर प्रतिक्रियावादी भएको टिप्पणी गरेका छन् । महासचिव किरणले एमाले–माओवादी र कांग्रेस–राप्रपा राजनीतिक र वर्गीय हिसाबले फरक नरहेको पनि स्पष्ट पारे । पार्टी कार्यालयमा आइतबार गरिएको पत्रकार भेटघाटमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै महासचिव किरणले भने, “मात्रात्मक रुपमा तलमाथि देखिए पनि माओवादी, एमाले, कांग्रेस र राप्रपा राजनीतिक र वर्गीय रुपमा एउटै हुन् ।”
क्रान्तिकारी कम्युनिष्ट बीच एकतामा जोड
महासचिव किरणले प्रथम राष्ट्रिय सम्मेलनले क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने निर्णय गरेको भन्दै प्रयास सुरु गरिएको पनि बताए । प्रगतिशील र क्रान्तिकारीहरुबीच एकता गर्ने निर्णय स्वरुप नेकपा (मसाल), विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपासँग पहल गरिएको जानकारी दिए । चाहेर नचाहेर पनि क्रान्तिकारीहरुबीचको एकता वा ध्रुवीकरण वाध्यात्मक बनेर गएको महासचिव किरणको विश्लेषण छ ।
भण्डाफोरका निम्ति चुनावको उपयोग
वर्तमान संसदीय व्यवस्थामा आधारित प्रतिक्रियावादी निर्वाचन र संसद संगुरको खोर रहेको विश्लेषण गर्दै यही सत्ता, व्यवस्था र संविधानको भण्डाफोर गर्न र संगठन निर्माणको आधार तयार पार्न पार्टीको वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मार्फत् निर्वाचनको उपयोग गर्ने नीति लिएको पनि महासचिव किरणले बताए । पार्टीले मोर्चाका उम्मेदवारहरुलाई सघाउने निर्णय लिएको पनि पत्रकार भेटघाटमा जानकारी दिए ।




























