तोकेको लक्ष्य भेटाउन सकेन नेपाल टेलिकमले

तोकेको लक्ष्य भेटाउन सकेन नेपाल टेलिकमले

फाल्गुन २० । नेपाल टेलिकमले चालु वर्षका लागि राखेको आम्दानीको लक्ष्य पूरा नहुने देखिएको छ । टेलिकमको अर्धवार्षिक बजेट समीक्षा प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि राखेको लक्ष्य पूरा नहुने देखिएको हो ।

टेलिकमले आन्तरिक छलफलका लागि तयार पारेको अर्धवार्षिक बजेट समीक्षामा कुल आम्दानी लक्ष्यको ४६ प्रतिशत मात्र हासिल भएको देखिएको छ । ६ महिनामा टेलिकमले ५० प्रतिशत लक्ष्य हासिल गर्नुपर्नेमा कम देखिएको हो । सञ्चालन र अन्य आय गरी चालु वर्षको ६ महिनामा टेलिकमले लक्ष्यभन्दा १ अर्ब ८ करोड २५ लाख रुपैयाँ कम आय गरेको प्रतिवेदनमा उल्लेख छ ।

टेलिकमको अन्य आय लक्ष्यभन्दा बढी भएको देखिए पनि सञ्चालन आय भने घटेको छ । सञ्चालन आयअन्तर्गत ल्यान्डलाइन, जीएसएम र सीडीएमए मोबाइल, एडीएसल, फाइबर टु द होम (एफटीटीएच), वाइम्याक्सलगायतका इन्टरेनेट सेवा, अन्तर्रा्ष्ट्रिय कल र टेलिफोन तथा अन्य सामग्री बिक्रीको आम्दानी पर्छ । अन्य आयमा भने कम्पनीले बैंकमा राखेको रकमको ब्याजलगायत पर्छ ।

चालु आर्थिक वर्षको ६ महिनामा टेलिकमको सञ्चालन आय लक्ष्यभन्दा १ अर्ब ६० करोड १५ लाखले कम देखिएको छ । टेलिकमले चालु वर्षमा ४४ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ सञ्चालन आयको लक्ष्य राखेको छ । लक्ष्यअनुसार ६ महिनाभित्र २२ अर्ब २४ करोड २७ लाख आम्दानी गर्नुपर्नेमा कुल २० अर्ब ६४ करोड १२ लाख मात्र आम्दानी गरेको छ ।

अन्तर्रा्ष्ट्रिय कल र रोमिङबापतको आम्दानी लक्ष्यअनुसार हुन नसक्दा सञ्चालन आयमा कमी आएको हो । टेलिकमले गत आर्थिक वर्षमा अन्तर्रा्ष्ट्रिय कल र रोमिङबापत कुल ११ अर्ब ६० करोड आम्दानी गरेको थियो । त्यसलाई बढाएर यसपालि १३ अर्ब ५२ करोड ६४ लाखको लक्ष्य राखिएको छ । लक्ष्य पूरा गर्न पहिलो ६ महिनामा ६ अर्ब ७६ करोड ३२ लाख आम्दानी गर्नुपर्नेमा टेलिकमले जम्मा ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । यो लक्ष्यभन्दा १ अर्ब ८१ करोड ९२ लाखले कम हो ।

यसैगरी टेलिकमले ल्यान्डलाइन, एडीएसएल, वाइम्याक्सलगायतका सेवाबाट पनि लक्ष्यअनुसार आम्दानी गर्न सकेको छैन । मोबाइल सेवाको आम्दानी भने लक्ष्यअनुसार नै भएको टेलिकमको अर्धवार्षिक बजेट समीक्षामा उल्लेख छ । पोस्टपेड मोबाइलतर्फ लक्ष्यको ५९ प्रतिशत र प्रिपेडतर्फ लक्ष्यको ५२ प्रतिशत आम्दानी भएको देखिन्छ । सीडीएमएमा भने लक्ष्यको ४० प्रतिशत, एडीएसएलमा ४८ प्रतिशत, एफटीटीएचमा २८ प्रतिशत र वाइम्याक्समा ३३ प्रतिशत मात्र आम्दानी भएको देखिन्छ ।

टेलिकमको सञ्चालनबाहेकको आम्दानी भने बढेको देखिएको छ । यस्तो आम्दानी लक्ष्यभन्दा बढी भएको देखिन्छ । ६ महिनामा यो आम्दानी लक्ष्यको ५९ प्रतिशत भएको देखिएको हो । टेलिकमले कुल २ अर्ब ६२ करोड २५ लाख यस्तो आम्दानी गर्ने लक्ष्य राखेकामा ६ महिनामा १ अर्ब ८३ करोड २ लाख आम्दानी गरेको छ । बैंकहरूले बचतको ब्याजदर वृद्धि गर्नु, गत वर्ष स्वैच्छिक अवकाशका लागि दिइएको खर्च यसपटक व्यहोर्न नपरेको तथा लोडसेडिङ हटेकाले डिजेल खर्च कम हुँदा यस्तो आम्दानी बढेको हो ।

नेपाल टेलिकमले गत आर्थिक वर्षमा कुल ४४ अर्ब २० करोड आम्दानी गरेको थियो । यसपटक आम्दानीको लक्ष्यलाई बढाएर ४७ अर्ब १० करोड र्पुयाएको हो । टेलिकमले समीक्षा प्रतिवेदनमा ६ महिनामा कुल १७ लाख ६१ हजार ९ सय ६७ ग्राहक थपिएको उल्लेख गरेको छ । यो लक्ष्यको ६७ प्रतिशत हो । टेलिकमले चालु वर्षमा कुल २६ लाख १५ हजार ४ सय ६९ ग्राहक थप्ने लक्ष्य राखेको छ ।