एजेन्सी । उत्तरी सिरियामा विद्रोहीले रसियाली युद्धक विमानलाई गोली हानी खसाउँदा ५ जनाको मृत्यु भएको छ ।
रसियाली सेनाको एमआई–८ विमान सिरियाको उत्तरी प्रान्त इदलिपमा विद्रोहीले खसाएका हुन् ।
यसमा चालक दलका तीन सदस्य र अन्य दुई सैनिक अधिकारी सवार रहेको र उनीहरु सबैको मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले जनाएको छ । सो सैनिक हेलिकप्टर मानवीय सहायता सामग्री पु¥याएर फर्किदै गरेका बेला विद्रोहीहरुले खसालेका हुन् ।
हालसम्म यो हेलिकप्ट कुन विद्रोही समूहले खसाएको हो भन्ने बारेमा एकीन भएको छैन । इदलिप प्रान्त चरमपन्थी संगठन इस्लामिक स्टेटको प्रभाव क्षेत्र मानिन्छ ।
रसियाले सिरियाली सरकारलाई सहयोग गर्न लामो समयदेखि आफ्ना सेना तैनाथ गर्दै आएको छ ।
गत जुलाईमा सिरियाको पूर्व सहर पल्माइरामा आईएसले दुई रसियाली पाइलटको गोली हानी हत्या गरेको थियो । यस्तै गत वर्षको नोभेम्बर महिनामा रसियाली लडाकु विमान सु–२४ मा गोली हानेर खसाल्दा चालकको मृत्यु भएको थियो ।
रसियाली हेलिकप्टर खसाएपछि भिडियो फुटेज र तस्वीरहरुमा विमानसँगै मानिसको शव समेत जलिरहेको देखिएको छ । सिरियाली राष्ट्रपति बसर अल असदको विद्रोहीविरुद्धको कारबाहीमा सघाउने रसिया प्रमुख शक्ति हो । गत महिनामात्रै सिरियाली सरकारी फौजले विद्रोहीको पकड रहेको एलेप्पो आफ्नो नियन्त्रणमा लिएको थियो ।
आईएस विद्रोहीले आइतबारमात्रै एलेप्पोमा आक्रमण गरी कब्जामा लिने प्रयास गरेका थिए । सिरियाली विद्रोहीले गत महिनामात्रै सरकारी सेनाले नियन्त्रणमा लिएको पूर्व एलेप्पो कब्जाका प्रयास गरेपछि त्यहाँ रहेका करिब ३ लाख सर्वसाधारण संकटमा परेका छन् । उनीहरुलाई खाना र औषधोपचारको समेत समस्या परेको जनाइएको छ ।
सिरियामा राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने उद्देश्यसहित सुरु भएको आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत हुँदा हालसम्म २ लाख ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं सर्वसाधारण विस्थापित भई शरणार्थी जीवन विताउन बाध्य बनेका छन् ।