२३ कात्तिक ।
हिजो शनिबार इच्छुक सांस्कृतिक प्रतिष्ठानको चौधौं प्राज्ञसभा प्रतिष्ठनकै चन्द्रागिरी कक्षमा सम्पन्न भएको छ । प्राज्ञसभालाई प्रमुख अतिथिका रुपमा प्रतिष्ठानकै सल्लाहकार रहनुभएका कम्युनिस्ट आन्दोलनका अग्रणि व्यक्तित्व प्रगतिवादी आख्यानकार सि.पि. गजुरेल ‘गौरव’ले सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा गौरवले भन्नुभयो– ‘इच्छुक प्रतिष्ठान नेपालका अग्रगामी परिवर्तकारी तथा समाजवादी यथार्थवादी धाराका सम्पूर्ण संस्कृतिकर्मीहरूको धरोहर भएकाले यसले आफ्नो साहित्यिक सांस्कृतिक गतिविधिहरूलाई जनताका बिचमा लैजाने गरी कार्यक्रम बनाउनु पर्दछ ।’ उहाँले आज देशमा माक्र्सवादी विचार, दर्शन, संस्कृति र साहित्यमा विभ्रम खडा गरिरहेकाले त्यसका विरुद्ध यस प्रतिष्ठानले सशक्त भूमिका खेल्नु पर्छ र जनतालाई सहि विचार दिन सांस्कृतिक जागरणका कार्य गर्नुपर्दछ भन्नुभयो ।

प्राज्ञसभाले गत आ.व.को अडिट रिपोर्ट पारित गर्नुका साथै यस आ.व.का लागि कार्यसमितिका तर्फबाट सदस्यसचिव मोदनाथ मरहट्टाले प्रस्तुत गर्नुभएको वार्षिक कार्यक्रम, गतवर्षको समीक्षा लगायत अनुमानित आय–व्यय बिबिरण सहितको प्रतिवेदनमाथि सबै प्राज्ञ सदस्यहरूले गहनतम छलफल गरेर आफ्ना सुझाव सल्लाह दिए । अन्त्यमा आवश्यक थपघट र परिमार्जन सहित उक्त प्रतिवेदन सर्वसम्मतीले पारित गरियो ।
प्राज्ञसभासमेतका अध्यक्ष रहेका हिरामणि दुःखीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यसमितिका सदस्यसचिव मोदनाथ मरहट्टाले गरेका थिए भने स्वागत प्राज्ञ मित्रलाल पंज्ञानीले गरेका थिए । सो सभालाई सशरीर उपस्थित हुन नसक्नुभएका प्रतिष्ठानका संरक्षक चैतन्यले पठाउनुभएको शुभकामना पत्रलाई अर्का प्राज्ञ प्र.डा.जगदीश चन्द्र भण्डारीले पढेर सुनाएका थिए ।
































