काठमाडौँ, भदाै १७
“सिर्जना र संवाद” कार्यक्रमको छैटौं शृङ्खला कविताको गोष्ठी गरि सम्पन्न भएको छ । हरेक महिनाको तेस्रो शनिवार दिनको दुई बजे हुँदै आएको शुरु कार्यक्रम आज सेतोपुल स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न भएको हो । साहित्यका सिद्धहस्त कविहरूदेखि नवप्रतिभासम्मलाई एकै थलो सुन्ने वातावरण इच्छुक प्रतिष्ठानले मिलाएको थियो ।
समसामयिक विषयमा लेखिएका आआफ्ना कविता वाचन गर्नु हुने कविहरूमा आस्था घिमिरे, छायाँदत्त न्यौपाने, मोदनाथ मरहट्ठा, धनेश्वर पोखरेल, नन्दीश अधिकारी, जगदिशचन्द्र भण्डारी, गौरी देवकोटा, मित्रलाल पंज्ञानी, विष्णु न्यौपाने र विनिशा पाख्रिन हुनुहुन्थ्यो ।
साहित्य प्रेमीहरूलाई एउटै मञ्चमा ल्याउन र सिर्जना मार्फत् विचार आदानप्रदान गर्न सहयोग पुर्याएको धारणासहित ईश्वर तिमिल्सिना, असल पाख्रिन, गोपाल मरहट्टा लगायतले कविताहरू उत्सुकतापूर्वक सुनेर आआफ्ना प्रतिक्रया/ सुझाव राख्नुभएको थियो ।
यस कार्यक्रमले स्थापित कविहरूको कविता सुन्ने मात्र नभइ नवप्रतिभाहरूको आत्मविश्वास र उदीयमान आवाजलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना भएको कुरा विशेषगरी विनिशा पाख्रिनको कविता सुनिसकेपछि उठेको थियो भने उनका शब्दको गहिराई र कलाको तारिफ पनि भएको थियो ।
प्रगतिवादी अाख्यानकार एवम् समालाेचक इस्मालीले प्रस्तुत भएका एकएक कविताहरूमाथि गहन समीक्षासहित कविको शैली, विषयवस्तु, र प्रस्तुतीकरणको पक्षलाई औल्याउँदै, आगामी पुस्ताका कविहरूलाई आफ्नो सिर्जनामा प्रगतिशील विचारहरूलाई जोड दिनुपर्ने विचार राख्नु भएको थियो । इस्मालीले विशेष गरि नव प्रतिभाहरूका रचनात्मक क्षमतामाथि प्रशंसा गर्दै लेखन कार्यमा प्रतिबद्ध विचारसहित लागिरहन प्रेरित पनि गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंगेनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै, नवप्रतिभाहरूलाई अघि बढ्न र आफ्नो कलालाई अझै तिखार्न उत्साहित गर्नुभयो भने यस प्रकारको सृजनात्मक यात्राले नेपाली कविता क्षेत्रलाई नयाँ दिशा र गति दिनेमा विश्वास पनि व्यक्त गर्नुभयो ।
मासिक रूपमा नियमित हुँदै आएको यस ‘सिर्जना र संवाद’ कार्यक्रमको संयोजन प्रगतिवादी कवि गौरी देवकोटाले गर्नुभएको थियो भने सञ्चालन कवि आस्था घिमिरेबाट भएको थियो ।