काठमाडौं । आँखा पाक्ने रोगले देशभर संक्रमणको रूप लिइरहेका बेला ताप्लेजुङमा गलफुलो (हाडे) संक्रमण पनि व्यापक रूपमा फैलिरहेको छ । केही दिनयता जिल्ला अस्पतालमा दैनिक दुईरचार जना गलफुलोका बिरामी आउने गरेको डा. महेश गोसाई बताउँछन् ।
अस्पताल आउनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् । डा. गोसाईका अनुसार मम्प्स नामक भाइरसका कारण हुने गलफुलो सरुवा रोग हो । कानको फेदमा च्यापुको एकापट्टि वा दुवैतर्फ सुन्निनुलाई बोलीचालीमा गलफुलो भन्ने गरिन्छ ।
‘गालाको तल्लो भागमा हुने प्यारोटिड ग्रन्थिलाई भाइरसले भेटेपछि सुन्निने र दुख्ने हुन्छ,’ डा. गोसाईले भने । लक्षण सुरु भएको पाँच दिनसम्म यो संक्रामक हुने भएकाले सावधानी अपनाउन डाक्टरको सल्लाह छ । फुङलिङ नगरपालिका–४ का दिपन घिमिरेले संक्रमण भएको समयमा अधिक दुख्ने, खान गाह्रो र बोल्न अप्ठ्यारो हुनेजस्ता समस्या देखिने बताए । ‘सुरुमा ज्वरो आउने, टाउको दुख्ने जस्तो भयो,’ उनले सुनाए, ‘कानको छेउमा सुनिन थालेपछि दुखाइ पनि धेरै भयो ।’ डाक्टरका अनुसार बच्चा, सुत्केरी, मधुमेह भएका र वृद्धवृद्धामा यो समस्या बढी देखिने गरेको छ । फुङलिङ–२ स्थित तमोर इङ्लिस स्कुलका प्रधानाध्यापक तरुण भारती यति बेला विद्यार्थीमा यो समस्या धेरै रहेको बताउँछन् ।
सिरिजंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जय सिंहले गलफुलो गाउँमा पनि देखिएको बताए । ‘कतिपयले मेडिकलमा किनेर पट्टी पनि लगाउँछन्,’ सिंहले भने, ‘हामीचाहिँ दुखाइ कम गर्ने ब्रुफिन, प्यारासिटामोल, एन्टिबायोटिक सिफारिस गर्छौं ।’ औषधि पसलबाट लगाइने पट्टी प्रभावकारी नहुने सिंहले बताए । गाउँका बुढापाकाका अनुसार गलफुलो कुनै वर्ष अधिक र कुनै वर्ष कम देखिने गर्छ ।
संक्रमित व्यक्तिको थुक, सिँगान, खकार वा नजिक भएमा श्वासप्रश्वासबाट यो सर्ने गर्छ । बिरामीको जुठो खाने वा पानीबाट पनि सर्ने स्वास्थ्यकर्मीको भनाइ छ । कतिपयमा अन्य लक्षण नदेखिए पनि दुखाइ हुने स्वास्थ्यकर्मी बताउँछन् ।
जिल्लामा आँखा पाक्ने रोगका बिरामी पनि बढिरहेका छन् । फुङलिङको डिचेन डोङगला आँखा उपचार केन्द्रमा शुक्रबार आएका ५३ जना बिरामीमध्ये ३९ जनामा आँखा पाक्ने समस्या देखिएको थियो । साउन १२ देखि देखिएको आँखा पाक्ने समस्या अझै नियन्त्रणमा नआएको आँखा उपचार केन्द्रका इन्चार्ज काजी गुरुङ बताउँछन् । केन्द्रले साउन १२ देखि ३२ सम्म आँखा पाक्ने समस्या भएका ४ सय ६५ जनाको उपचार गरिसकेको छ । सदरमुकाम बाहिर दोभान बजारबाट पनि सेवा प्रवाह गरिरहेको उक्त संघले दैनिक ८१० जना आँखा रोगका संक्रमित आउने गरेको जनाएको छ ।




























