माननीयज्यूलाई अयोग्य लडाकुको चिठ्ठी

माननीयज्यूलाई अयोग्य लडाकुको चिठ्ठी

 

माननीयज्यू नमस्कार‚
अयोग्यको बिल्ला भिराईएकी म एउटी पूर्व लडाकु संसदमा हजुरहरुले हाम्रा बिषयमा जे बहस गर्नुभयो त्यसले उकुस मुकुस भएर यो चिठ्ठी हजुरहरुका नाममा लेखेकी छु । कृपया यहाँहरुसम्म आईपुग्यो भने झन्झट नमानीकन केहि मिनेट समय दिएर पढिदिनु हुन अनुरोध गरेँ ।

शान्ति सम्झौता भएको झन्डै सत्र बर्ष पुग्न लागेछ । उमेरले लडाकु प्रमाणित हुन अयोग्य भएकी म अब त त्यो उमेरको नजिक नजिक मेरो छोरा पुगिसकेको छ । मैले नौ कक्षा पढ्दै गर्दा छाडेका किताबहरु आज उ बोकेर हिँड्ने भईसकेको छ । तर आजसम्म मैले उसलाई भनेकी छैन ‘म अयोग्य लडाकु हुँ’ भनेर । हुन त यो बेला उ लडाकुको इतिहास बुझ्ने सामर्थ्य राख्दैन ।कहिलेकाँही उ मेरो खुट्टामा खत देखाउँदै सोध्छ ‘के भएको ममी भनेर’ । जवाफमा म ‘सानैमा लडेर’ भनिदिन्छु ।

 

हेलिकप्टरबाट बर्षिएको त्यो बम हाम्रो बिचमा खस्दाको क्षण सम्झन्छु । म होसमा आउँदा मेरो खुट्टा रगतमा लत्पतिएको थियो‚ जुत्ता उछिट्टिएको थियो तर मेरी साथीको त खुट्टा नै उछिट्टिएको थियो । तीव्र रक्तस्रावसँगै उ छटउटाईरहेकी थिई । सकि नसकी उसलाई सान्त्वना दिँदा जति पीडा थियो त्यो भन्दा बढी पीडा संघीय संसदमा उभिएर माननीयज्यूले हाम्रो अपमान गर्दा भएको छ । माननीयज्यू यो परिवर्तनमा हाम्रो कुनै योगदान छैन र ? यो संसदमा युद्धमा ज्यान गुमाएका ती किशोर किशोरीहरुको रगतको आलो गन्ध आँउदैन र माननीयज्यू ? तिनको रगतमा उभिएर इतिहासप्रति भद्दा मजाक गर्न सुहाउला र ?

देशमा गणतन्त्र आयो‚ नयाँ संविधान बन्यो‚ संघीयता‚ समावेशिता‚ धर्मनिरपेक्षता जस्ता कुराहरु संस्थागत भए । यो परिवर्तनमा हामीले हाम्रो किशोरावस्था खर्च गरे बापत विगत सत्र बर्षमा अयोग्यका नाममा राज्यबाट अपमान र तिरस्कार बाहेक केहि पाएका छैनौँ । दुर्भाग्य हाम्रो किशोरावस्थाको रगत पसिना परिवर्तनका लागि योग्य‚ हामीलाई प्रयोग गर्ने पार्टी योग्य‚ नेताहरु योग्य‚ हामी जस्तै किशोर किशोरीहरुको हत्या गर्नेहरु सबै योग्य तर हामी अयोग्य ? कहिँ कतै हामीमाथि अन्याय भए जस्तो महशुस हुँदैन है माननीयज्यू ?

हामी माथिको अपमानको श्रृखला त्यहाँ बाट शुरु भयो जब माइनरका रुपमा हामीलाई अयोग्य घोषणा गरियो । त्यतिका बर्ष युद्धमा प्रयोग गरेर बिना कुनै ब्यवस्थापन अलपत्र पारियो । पटक पटकका आन्दोलन पछि अर्को अपमान हाम्रो रगत पसिनाको मूल्य दुई लाख निर्धारण भयो । त्यसपछिका अपमान र तिरस्कारका श्रृंखलामा त माननीयज्यूहरु नै बढी जानकार हुनुहुन्छ । भन्दिनुस न माननीयज्यू हाम्रो लगानीमाथि राजनीतिक रंग दिएर हामीमाथि कहिलेसम्म राजनीति गर्नुहुन्छ ?

माननीयज्यू‚ सक्नुहुन्छ भने हाम्रो रगत पसिनाको गन्ध आउने यो ब्यवस्था नै फेरिदिनुस् । तपाँईको ब्यवस्थामा त हामी जत्रासुकै अपमान पनि सहन्छौं । जेल‚ नेल‚ यातना र मृत्युदण्ड पनि सहन्छौं । तर यो ब्यवस्थामा त सहन सकिएन माननीयज्यू । सकस भयो हामीलाई र त म चिच्याईरहेकी छु हामीलाई अपमानित गरेर दिने भनेको दुई लाख चाहिएको होइन । हामीलाई त हाम्रो रगत र पसिनाको सम्मान चाहिएको हो ता कि हाम्रा सन्तानले पनि यहाँहरुले गरेको अपमानमा खिन्न हुन नपरोस् । घाईते शरीरका खतहरु आफ्ना सन्तानहरुसँग लुकाउन नपरोस् । आफैँले लडेर ल्याएको ब्यवस्थामा उकुस मुकुस भई छट्पटाएर सकसले बाँच्न नपरोस् । माननीयज्यू , हामीलाई शान्तिपूर्बक बाँच्ने बाटो दिनुहोस् । चहर्याईरहेका हाम्रा घाउहरुमा मलम लगाउन सक्नुहुन्न भने बिन्ति छ नुन चुक नछरिदिनुस् न है ।
उहि अयोग्य लडाकु गंगा लाप्चा