काठमाडौं ।  आफ्नो पक्षमा बहुमत पु¥याउन नसकेपछि एमालेका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका अनुसार पोखरेलले आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका छन् ।

उनको राजीनामा स्वीकृत गर्ने÷नगर्ने भन्नेबारे प्रदेश प्रमुखले निर्णय गर्ने प्रावधान छ । राजीनामा पत्रमा संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको उल्लेख छ । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेलले नयाँ मोड दिएको छ । विपक्षीको निवेदनको आधारमा आज बस्ने विशेष अधिवेशनअघि मुख्यमन्त्री पोखरेलले राजिनामा बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्तावमा आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि रहेको थियो ।

पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांसद संख्या पनि ४१ नै हो । मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निष्कासनमा परेपछि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिन ४१ मत आवश्यक परेको थियो । दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरूलाई फ्लोर क्रस हुनबाट कसरी रोक्ने भन्ने एमालेमा चुनौती देखिएपछि मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर