क्रान्तिकारी पत्रकार महासंघका केस अवस्थीलाई पितृशोक, महासंघद्वारा श्रद्धाञ्जली व्यक्त

प्रकाशित मिति : २०७७ श्रावण ८

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक धनन्जय अवस्थीलाई पितृशोक परेको छ । केस अवस्थीका बुबा बाशुदेव अवस्थीको बुधबार साँझ ६ बजे कञ्चनपुरको शुक्लाफाँटा नपा–१ गणेशपुरस्थित घरमै उहाँको असामयिक निधन भएको थियो । उहाँ पेटको क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

यसैबीच, क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी गरी दिवंगत बुवा बाशुदेव अवस्थीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ भने महासंघका केन्द्रीय सदस्य धनन्जय अवस्थीलगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

संगठनका अध्यक्ष इन्द्र राउतले बिहीबार जारी गरेको वक्तव्यमा भनिएको छ, “हाम्रो गौरवशाली संगठन क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सदस्य तथा सदूरपश्चिम प्रदेशका संयोजक धनञ्जय अवस्थीका बुबा बाशुदेव अवस्थीको बुधबार साँझ ६ बजे असामयिक निधन हुन पुगेको छ । कञ्चनपुरको शुक्लाफाँटा नपा–१, गणेशपुर निवासी ५७ वर्षे वाशुदेव अवस्थीको निधनले हाम्रो संगठनलाई दुःखित् र स्तब्ध तुल्याएको छ । दुःखद् यो शोकको घडीमा हाम्रो संगठन दिवंगत बुबा वाशुदेव अवस्थीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र हाम्रो संगठनका केस धनञ्जय अवस्थीलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।”