काठमाडौमा मधेशी राष्ट्रिय मुक्ति मोर्चा(क्रान्तिकारी)को भेला

सियाराम अध्यक्षमा निर्वाचित

प्रकाशित मिति : २०७६ आश्विन १५

काठमाडौं, असोज १५
मधेशी राष्ट्रिय मुक्ति मोर्चा(क्रान्तिकारी)को काठमाडौं जिल्लाको भेला मोर्चाका केन्द्रीय सदस्य रवीन्द्र मिश्रको अध्यक्षतामा सम्मपन्न भएको छ । आज आयोजित भेलामा उपस्थित प्रमुख अतिथी नेकपा(क्रान्तिकारी माओवादी)का ३ नं. प्रदेशका इन्चार्ज सागरले मजदुर किसानको एकता र आन्दोलनबाट मात्र सबै उत्पीडित वर्ग र समुदायको मुक्ति संभव हुने बताए । उनले उत्पीडित वर्ग, जाति क्षेत्र लगाएत मधेशी समुदाय एक ढिक्का भएर प्रतिक्रियावादी सत्ताका विरुद्ध संघर्ष गर्नु पर्ने तथ्य औल्यााए । काठमाडौंमा आएर विभिन्न पेशा ,व्यसाय गरेर बसेका मधेशी मूलका सबै नेपालीहरु मधेशी मोर्चामा संगठित भएर आफ्नो अधिकारको लागि आन्दोलनमा उत्रनु पर्नेमा नेता सागरले जोड दिए । भेला सफलताको शुभकामना दिदै उनले भेलामा उपस्थित सबैलाई दिपावली र छठको समेत शुभकामना दिएका थिए ।

        त्यसै गरी भेलामा उपस्थित देजमो ३ नं. प्रदेशका अध्यक्ष पवनमान श्रेष्ठले भेला सफलताको शुभकामना दिदै मधेशी समुदाय नेपालको तराईको भाषिक समुदाय भएको बताए । मिथिलामा मैथली, भोजपुरामा भोजपुरी र बज्जिका तथा अवधमा अवधी भाषा बाल्ने मधेशीहरु भाषिक समुदाय भएको तर यी सबै भाषिक समुदायको संंस्कृति भने साझा रहेको तथ्य औल्याए । मधेशी समुदायमाथि पहाडिया ब्राम्हणवादी सत्ताले सदियौंदेखि उत्पीडनमा पार्दै तिनलाई दोस्रो दर्जाको नागरिक वा विदेशी जस्तो व्यवहार गर्दै आएको उल्लेख गरे । उनले सबै नेपालीहरु समान हुन् र मधेशी पनि नेपाली भएकाले प्रतिक्रियावादी सत्ताको उत्पीडनबाट मुक्त पार्न जनयुद्ध कालमा ०५७ सालमा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेकपा(माओवादी)को भातृ संगठनका रुपमा स्थापना भएको बताए । तर जनयुद्धका मूल नेतृत्वको गद्दारीले गर्दा मधेशी लगायत सबै उत्पीडित वर्ग, जाति, समुदायले अधिकार नपाएको उनले बताए । आफ्ना अधिकार प्राप्तिका लागि पुनः संघर्ष आवश्यक भएको तथा मधेशी लगायत सबै उत्पीडित समुदाय नयाँ जनवादी क्रान्तिमा सामेल हुनु पर्ने र यसका लागि सम्पूर्ण मधेशी समुदायलाई मधेशी मोर्चामा गोलबन्द गर्नु पर्ने नेता श्रेष्ठले बताए ।

     अर्का वक्ता नेकपा(क्रान्तिकारी माओवादी) काठमाडौं जिल्लाका इन्चार्ज प्रवेशले नेपालमा विभिन्न मधेशी संंगठनहरु रहेका तर ती संगठनहरु र तिनका नेताहरुले मधेशी जनतालाई अहिलेसम्म धोका दिदै आएकाले सबै उत्पीडित मधेशीहरु मधेशी जनताको सच्चा र क्रान्तिकारी संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा(क्रान्तिकारी)मा आबद्ध भई आन्दोलनमा जानु पर्ने आवश्यकता औँल्याए ।   भेलामा उपस्थित अन्य अतिथीहरु रिना गेलाल, बोजराज श्रेष्ठ र मंगल तामाङले पनि भेलाको सफलताको शुभकामना दिएका थिए ।

      उक्त भेलाले सियाराम साहको अध्यक्षतामा पछि एक जना थप्ने गरी १७ जनाको समिति बनाएको छ । जसमा उपाध्यक्ष रामविलास पण्डित, सचिव कृष्ण पटेल राउत, सहसचिव आशा नारायण साह र पुनित साह तथा कोषाध्यक्ष अन्सुर साह निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा राम कलेवर साह, मुंंगलाल साह, रविशंकर साह, रामविनोद राउत, राकेस साह, नवल राउत, संजिव साह, होसनारायण साह र शिवशरण बैठा रहेका छन् ।