बन्द सफल भएको नेकपा विप्लवको दावी

प्रकाशित मिति : २०७६ श्रावण १५

काठमाडौं । नेकपा विप्लवले बुधबार अर्थात् साउन १५ मा गरेको बन्द सफल भएको दावी गरेको छ । विप्लवका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो दावी गरेका हुन् ।
प्रकाण्डले जारी गरेको वक्तव्यमा वर्तमान ओली सरकारलाई ‘देशव्यापी दमन, षड्यन्त्र र हत्यामा उत्रिएको राष्ट्रघाती, व्यभिचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक केपी ओली सरकार भन्दै प्रहरीभित्रको बदनाम गिरोहले यही साउन ४ गते राति नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, उपत्यका ब्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई गिरफ्तार गरी नाङ्गो झूट र नक्कली बहानामा जेल चलान गरेको घटनाका विरुद्धमा बन्दको आव्हान गरिएको जनाइएको छ ।
वक्तव्यमा बन्दको सफलताले केपी–पीके–रामबहादुर मण्डलीले नेकपा विप्लवका नेता–कार्यकर्तामाथि लगाउँदै आएको झूट्टा आरोप पूर्णतः खारेज भएको प्रमाणित गरेको समेत दावी गरिएको छ ।
वक्तव्यमा प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसदवादीहरूको यथास्थितिवादी चिन्तन र विदेशी शक्तिकेन्द्रको हस्तक्षेपमा देश र जनतामाथि लादिएको प्रतिक्रान्तिका विरुद्ध पार्टीले लगातार सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपले नै नाङ्गिएर सङ्कटमा परेको दावी गरेको छ ।
यसैबीच, बन्दको पूर्वसन्धया र बिहान मकवानपुरको ४ स्थानमा बम फेला परेको थियो । त्यसैगरी नुवाकोटको ककनी गाउँपालिका १ कागतीगाँउको वडा नम्बर १ को कार्यालयमा आगजनी भएको छ । ४–५ जनाको समूहमा आएका अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेको प्रहरीले जनाएको छ ।