महासचिव किरणको युवाहरुलाई निर्देशन, ‘कम्युनिष्ट र वाम खोल ओढेका अवसरवादी गद्दारहरुलाई नाङ्गेझार पार्दै नयाँ क्रान्तिका लागि कस्सिनुस्’

महासचिव किरणको युवाहरुलाई निर्देशन, ‘कम्युनिष्ट र वाम खोल ओढेका अवसरवादी गद्दारहरुलाई नाङ्गेझार पार्दै नयाँ क्रान्तिका लागि कस्सिनुस्’

हेटौडा । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशको युवा जागरण तथा प्रशिक्षण कार्यक्रमको साेमबार मकवानपुरमा उद्घाटन गर्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले एमाले र माके कम्युनिष्ट र वामको खोल ओढेका अवसरवादी गद्दारहरु भएको बताउनु भएको भएको छ ।

नेपालमा कम्युनिष्ट तथा वाम जनमत ठूलो रहेकोले त्यसलाई भ्रमित तुल्याएर आफ्नो स्वार्थसिद्ध गर्न कम्युनिष्ट वा वाम भएको उनीहरुले नौटंकी गरिरहेको पनि बताउनु भयो . मुलुकमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्घोषका भएको महान जनयुद्धमाथि गम्भीर धोका र गद्दारी गरेर भूतपूर्व कमरेडहरु पुरानै पश्चगामी संसदीय व्यवस्थाको मतियार बनेर जनयुद्धकालमा ‘गद्दार संशोधनवादी, प्रतिक्रियावादी एमाले गुट’ भन्ने प्रचण्डहरु अहिले लाजै नमानी एमालेमा विलय हुन पुगेको पनि टिप्पणी गर्नुभयो । माकेको एमालेकरणलाई विडम्बनायुक्त परिघटना भन्दै महासचिव किरणले “साम्राज्यवादको डलरमा बिकेका र विस्तारवादको चाकडी गर्नेहरुले, नवउदारवादलाई स्वीकार गर्नेवालाहरुले र देशभित्र दलाल पुँजीपति, नोकरशाह पुँजीपति र सामन्तवर्गको प्रतिनिधित्व गर्नेहरुले नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरण गर्न सक्दैनन् । ” भन्नुभयो, “अहिलको समय भनेको क्रान्तिको महान सम्भावना बोकेको समय हो । चुनौतीहरुको सामना गर्दै जनयुद्धको ओझ र गरिमालाई गहिरोगरी आत्मसात गर्न जरुरी छ र क्रान्तिको नयाँ शिराबाट तयारी थाल्नुपर्दछ ।”

पुरानो राज्यसत्तालाई ध्वंश गरेर नयाँ राज्यसत्ता स्थापना गर्नु नै क्रान्ति हो भन्दै उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु एमाले माकेहरुबाट समाधान हुन नसक्ने दावी गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “छपकैयालगायतका स्थानमा भारतीय विस्तारवादले सीमा मिच्दा चुइक्क नबोल्नेले राष्ट्रिय स्वाधीनताको रक्षा गर्छन् ? झण्डै एक करोड नेपाली विदेशिएका छन् । रोजगार दिन सक्छन् ? आयातलाई प्रतिस्थापन गर्न सक्छन् ? देशलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सक्छन् ? सक्दैनन् ? प्रधानमन्त्री नहुँदै मोदीसँगको मन्त्रणा, कानेसुखी, स्वराजसँग गरेको कुराहरु के हो ?”

देशमा आर्थिक समृद्धि र स्थायित्वको विकास गर्न महासचिव किरणले ‘भारतसँग गरिएका सन् पचास लगायतका असमान सन्धिसम्झौताहरु खारेज गर्नुपर्छ । मिचिएका भूभागलाई फिर्ता गर्नुपर्छ । विशाल जलविद्युत आयोजनाहरु विदेशीहरुबाट फिर्ता गरेर स्वदेशी लगानीमा बनाइनु पर्दछ । किसानहरुलाई अनुदान दिनुपर्छ । देशमा स्वाधीन अर्थतन्त्रको विकास गर्नुपर्छ ।’ भन्नुभयो, “उनीहरुले यो सबै काम गर्न सक्दैनन्, गर्दैनन् । सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले यो कुरा जनताको बीचमा पु¥याउनु पर्छ । र, जनतालाई संगठित रुपमा आन्दोलित तुल्याउनु पर्दछ ।”

एक अर्को प्रसंगमा महासचिव किरणले भन्नुभयो, “संघर्षको प्रक्रियामा नै एकता र ध्रुवीकरण हुँदै जान्छ । विना संघर्ष एकता हुनेवाला छैन । अब हामीले जुझारु संघर्षको विकास गर्नुपर्दछ । नयाँ क्रान्तिको तयारी गर्न युवाहरुले भूमिका खेल्नुपर्छ । क्रान्तिका लागि सशस्त्र संघर्षको भूमिका आवश्यक पर्छ ।” उहाँले क्रान्तिकारी युवाहरुलाई क्रान्तिका निम्ति सिद्धान्त, संगठन, अनुशासन र जनतासँग एकाकार भएर अगाडि बढ्न  पनि निर्देशन दिनुभयो, ‘कम्युनिष्ट र वाम खोल ओढेका अवसरवादी गद्दारहरुलाई नाङ्गेझार पार्दै नयाँ क्रान्तिका लागि कस्सिनुस्’ .

कार्यक्रमलाई पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पिविएम तथा ३ नंं. प्रदेश सचिव दिनेश शर्मा सागरलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । प्रशिक्षणका लागि ३ नंं. प्रदेशका जिल्लाहरुबाट युवाहरुको सहभागिता रहेको छ ।