काठमाडौँ । आफूलाई वामपन्थी तथा कम्युनिष्ट भनाउने एमाले र माके गठबन्धनको केपी ओली नेतृत्वको सरकार फासिवादी दिशामा अग्रसर हुँदै गएको छ । सरकारको नेतृत्व सम्हाल्ने वित्तिकै ६ फागुनमा शान्तिपूर्ण कार्यक्रममा सहभागी हुँदै गर्दा नेकपाका नेताहरुलाई विनाकारण समातेर सार्वजनिक अपराधको मुद्दा लगाउनु र १६ फाल्गुनमा नेकपाका महासचिव नेत्रविक्रम चन्दको घरमा पक्राउ पुर्जी टाँस गर्नुलगायतका घटनाक्रमले ओली नेतृत्वको सरकारको फासिवादी अग्रसरतालाई दर्शाउँछ । सरकारी एक उच्च स्रोतका अनुसार विप्लव नेतृत्वको नेकपालाई ‘अराजनीतिक’ घोषणा गर्दै दमनको रणनीति तयार गरिरहेको बुझिएको छ ।

समाचार स्रोतका अनुसार ओली सरकारले नेकपाका कार्यकर्तालाई भन्दा पनि विप्लव लगायतका नेतृत्व पंक्तिलाई पक्राउ गर्ने रणनीति तयार पारिरहेको छ । त्यसका लागि ओलीले विप्लव र विप्लव नेतृत्वको पार्टीलाई कानुनी दायरामा ल्याउने जिम्मा प्रचण्ड र बादलहरुलाई दिएका छन् । रामबहादुर थापा‘बादल’ले गृहमन्त्रालय सम्हालेको भोलिपल्टै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको घरमा पक्राउ पुर्जी टाँस हुनु संयोग नभएर योजनाबद्ध रहेको पनि स्रोतको दावी छ । पक्राउ परेका नेकपाका नेताहरु सुदर्शन र पदम राईलाई जनदबाबपछि रिहाइ गरेपनि ओली नेतृत्वको सरकार विप्लवलाई जसरी पनि पक्राउ गर्ने रणनीतिमा रहेको छ ।

समाचार स्रोतको दावी छ कि ओली दाहाल गठबन्धनको सरकारले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’, माओवादी केन्द्रका विद्रोही नेताहरु लोकेन्द्र विष्ट, गोपाल किराती र विश्वभक्त दुलाल आहुतीहरुले पनि अझ ठूलो चुनौती खडा गर्न सक्ने विश्लेषण गर्दै उनीहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने रणनीति बनाउने तयारीमा रहेका छन् ।

यसैबीच, १६ फागुनमै नेकपा (माओवादी केन्द्र)को विद्रोही समूहको नेतृत्व गरेका गोपाल किराती निकट अखिल (क्रान्तिकारी)को पुनगर्ठित भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले ओली दाहाल नेतृत्वको सरकार क्रान्तिकारी शक्तिहरुलाई छिन्नभिन्न पार्ने र दमन गर्ने नीतिसहित फासिष्ट ढंगले आउन खोजेको भन्दै सबै क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

भेलामा बोल्दै महासचिव किरणले माकेभित्रको दक्षिणपन्थी संशोधनवादी तथा विसर्जनवादी तत्वहरुका विरुद्ध विद्रोहको झण्डा उचाल्ने साहस गरेकोमा नेता किरातीलाई धन्यवाद दिंदै किरातीको प्रशंसामा केही शब्द समेत खर्चिए । उनले सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्ध बनेर क्रान्तिको बाँकी कार्यभार पूरा गर्न लाग्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको भन्दै छरिएर रहेका क्रान्तिकारीहरुलाई एकताको लागि आव्हान समेत गरे । भेलामा नेता किराती, विष्ट, आहुतीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

उता नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले फागुन १६ मै एक विज्ञप्ति जारी गर्दै केपी ओली र प्रचण्डको सरकारले उक्त पार्टीका महासचिव विप्लवलाई जारी गरेको वारेन्ट तथा सम्पत्ति रोक्का गर्ने आदेश आफ्नो पार्टीले खारेज गर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीका महासचिव क.विप्लवको नाममा केपी ओली सरकारको भोजपुर जिल्ला अदालतले भोजपुर जिल्ला प्रहरी कार्यालयको जाहेरी प्रतिवेदनको हवाला दिदै विष्फोटक पदार्थ सम्बन्धी अभियोगमा ०७४ पौष ९ गते गिरफ्तार गर्न जारी गरेको वारेन्ट कपिलवस्तु जिल्ला शिवपुरी उहाँको दाजु चन्द्रबहादुर चन्दको घरमा टाँसिएको छ । हाजिर नभए अंश रोक्का र कब्जा गरिने कथित कानुनी धम्की पनि दिइएको छ । यस प्रकारको पक्राउ पुर्जी टाँस र कानुनी धम्कीको हाम्रो पार्टी पुरै खारेज गर्दछ ।”

विज्ञप्तिमा प्रकाण्डले “यस्तो झुठ, कपोकल्पित, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनैतिक चरित्र हत्या गर्न गरिएको प्रपंच यथाशक्य रोक्न ओली सरकार र त्यसका अदालत तथा प्रहरी प्रशासनिक निकायलाई हाम्रो पार्टी कडा चेतावनी पनि दिन्छ ।” भनेका छन् ।

विज्ञप्तिमा “१० वर्षको जनयुद्ध, यसका उपलब्धिहरु, हजारौं जनयुद्धका सहिदहरुको रगत र नेपाली क्रान्तिका विरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताका विरुद्ध साम्राज्यवादीहरुको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ ।” उल्लेख गरिएको छ र चेतावानी भाषामा लेखिएको छ, “हाम्रो पार्टी महासचिव क.विप्लवलाई लगाईएको झुट्टा मुद्दा तुरुन्तै खारेज गरियोस् । यदि खारेज गरिएन भने हाम्रो पार्टी नेता कार्यकर्तालाई झुट्टा मुद्दामा फसाउने, गिरफ्तार गर्ने र पार्टीमाथि दमन गर्ने योजनाकार, अदालत एवं प्रशासनका कारिन्दा र सिआईडी सुराकी विरुद्ध कारबाही बढाउन पार्टी बाध्य हुने कुरा समेत स्पष्ट गर्दछ । यसबाट निस्कने भयावह परिणामको कारक तत्व ओली सरकार, प्रचण्ड ओली गठबन्धन र यो देशका दलाल तत्वहरु हुने छन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर