गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं । निर्माण व्यवसायी शरद गौचन, युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र व्यवसायी बसन्त पौडेलको हत्यामा संलग्न रहेका गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा बुधबार मारिएका छन् । गुन्डा नाइके पुनसहित उनका सहयोगी सोम आले पनि प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पुन नेपाल आएको थाहा पाएपछि सर्च अभियान चलाएको थियो । सोक्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएपछि प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा उनीहरु मारिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा गोली लागेर घाइते भएका दुवै जनालाई तत्काल उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएपनि बुधबार बिहान मृत्यु भएको हो ।

पुनले असोज २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा निर्माण व्यवसायी शरद गौचनमाथि गोली प्रहार गरी हत्या गरेका थिए । २०७३ पुस पहिलो साता रुपन्देहीका दुर्गा तिवारी र गत पुस २१ गते रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनि मनोज पुनकै हात रहेको खुलेपछि उनी केन्द्रिय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजीको सूचिमा थिए ।

२०७३ चैत २९ गते काठमाडौंको कुमारीगालमा गुण्डा नाईके दावा लामालाई गोली हान्नासाथ काठमाडौं प्रहरी प्रमुखलाई फोन गरेर जिम्मा लिने ‘लोप्साङ लामा’ मनोज पुनको ‘दायाँ हात’ भएको बताइएको छ ।