काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दोलखाले फागुन २१ को संसदीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी अभियानको हस्तक्षरमा जिल्लाबाट उम्मेदवार बनेका प्रमुख चार पार्टीका उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै यस्तो पत्राचार गरिएको हो ।
प्राप्त जानकारी अनुसार जिल्लाबाट उम्मेदवार बनेका नेकपा एमालेका पार्वत गुरुङ, नेपाली कांग्रेसका अजयवावु शिवाकोटी, नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का र रास्वपाका जगदीश खरेललाई यस्तो पत्र पठाइएको छ ।
पत्रको व्यहोरामा उल्लेख गरिएको छ, “ विषय : उम्मेदवारी फिर्ता सम्बन्धी अपेक्षा पत्र ।
वर्तमान विश्व(भूराजनीतिक शक्ति सन्तुलनको प्रभाव, आन्तरिक राजनीतिक अस्थिरता, नवउदारवादी तथा नवउपनिवेशवादी हस्तक्षेप, कुशासन तथा जनअधिकारहरु निरन्तर कुण्ठित हुनुका कारण हाम्रो देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फस्दै गएको छ । जसका कारण राष्ट्रको स्वाधीनता, जनताको जनवादी अधिकार तथा मूल्य( मान्यता र भविष्य नै जोखिममा पार्दै गएको यथार्थ हामी सबैका सामु प्रस्ट छ।
यस्तो संवेदनशील घडीमा केवल नियमित संसदीय निर्वाचनमार्फत मात्र राष्ट्रको मौलिक समस्या समाधान सम्भव छैन् । बरु, यो निर्वाचन प्रक्रियाले विद्यमान संकटलाई थप जटिल बनाउने खतरा देखापरेको छ । तसर्थ राष्ट्र, जनता र इतिहासप्रतिको उत्तरदायित्व बोध गर्दै राष्ट्रिय राजनीतिक सम्मेलनका माध्यमबाट स्वाधीन संयुक्त सरकार गठन गरी देशलाई अग्रगामी निकासतर्फ डोयाउनु अहिलेको परिस्थितिमा एक मात्र सर्वोकृष्ट राजनीतिक मार्ग हो । यो मार्ग कुनै दलगत स्वार्थका लागि नभई, सम्पूर्ण नेपली जनताको हित, राष्ट्रिय एकता र भावी पुस्ताको सुरक्षित भविष्यका लागि हुनेछ ।
यसै सन्दर्भमा, फागुन २१ गते हुने संसदीय निर्वाचनमा आफ्नो उम्मेदवारी स्वेच्छिक रूपमा फिर्ता लिई राष्ट्रिय राजनीतिक सम्मेलनका माध्यमबाट देशको स्वाधीनता रक्षा, जनअधिकार सुनिश्चितता, आर्थिक, सामाजिक, राजनीतिक रूपान्तरण र दीर्घकालीन राष्ट्रिय निकासका आधारहरू निर्माण गर्न राष्ट्रप्रतिको साझा जिम्मेवारीलाई आत्मसात गर्दै तपाईंको सकारात्मक, दूरदर्शी र ऐतिहासिक निर्णयको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अपेक्षा गर्दछ ।”
पत्र फागुन १२ गते उम्मेदवारहरुलाई पठाइएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केस तथा जिल्ला सक्रेटरी अभियानले जानकारी दिनुभयो ।
































