काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नं ब्यूरोका सचिव सोमानसिंह तामाङलाई प्रहरीले विनाकारण गिरफ्तार गरेको छ । सम्बद्ध पार्टी स्रोतका अनुसार उहाँलाई काभ्रेको बनेपाबाट गिरफ्तार गरिएको हो । नेता तामाङको गिरफ्तारीको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ताहरुले अविलम्ब विना सर्त रिहाइको माग गरिरहेका छन् ।
सुशिला कार्की नेतृत्वको सरकारले फरक विचार र राजनीति राख्ने राजनीतिक पार्टीप्रति निषेध, निरंकुश र फासिवादी चरित्र प्रदर्शन गरिरहेको छ । शान्तिपूर्ण रुपमा पनि आफ्ना विचार र राजनीतिक एजेण्डा जनतामाझ पु¥याउन अघोषित रुपमा प्रतिबन्ध लगाएको छ । देशैभर ठाउँ ठाउँमा निर्वाचन बहिस्कार पक्षधर नेता कार्यकर्ताहरुलाई पक्राउ गर्ने, यातना दिने काम गरिरहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ताहरुले विचार अभिव्यक्ति स्वतन्त्रतामाथि निषेध गरिएको भन्दै सरकारको यस्तो फासिवादी दमनको सशक्त रुपमा आलोचना गर्दै आएका छन् र राज्यको दमनका बाबजुद निर्वाचन बहिस्कार आन्दोलनलाई थप प्रभावकारी बनाउँदै लगेका छन् ।
संयुक्त संघर्ष समितिले पनि गिरफ्तार नेता नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला लगायत संयुक्त संघर्ष समितिमा रहेका घटक पार्टीका गिरफ्तार नेता कार्यकर्ताहरुलाई तत्काल विना शर्त रिहाइ गर्न जोडदार माग गर्दै देशैभर संघर्षका कार्यक्रम पनि अगाडि बढाएको छ । निर्वाचन नजिकिदै जाँदा सुशिला कार्की नेतृत्वको सरकार निर्वाचन बहिस्कार आन्दोलनबाट आतंकित बन्न पुगेको देखिन्छ ।
































