काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलको बन्दीप्रत्यक्षीकरण रिटलाई स्वीकार गर्दै उनलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले कट्टेललाई रिहा गर्न आदेश दिएको हो ।
कट्टेलको पार्टीले फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । सोही कारण सरकारले उनी चुनाव बिथोल्न गतिविधिमा लाग्ने आशंकाका आधारमा फागुन ६ गते पक्राउ गरेको थियो ।
बुबा पक्राउ परेपछि फागुन ८ गतेका कट्टेलका छोरा रुपेशले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै मंगलबारको इजलाशले रिहा गर्न आदेश दिएको हो ।
यता नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोलालाई भने सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै तत्काल रिहाइको आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सोमबार कारण देखाउ आदेश मात्रै जारी गरेको हो। अब गृह मन्त्रालयसहितका विपक्षीले बस्तोला पक्राउ गर्नुको कारण पेस गर्नुपर्छ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचन बहिस्कार गरेको पार्टीले निर्वाचन ब्थिोल्ने गतिविधि समेत अगाडी बढाएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको थियो। तर गैरकानुनी रुपमा थुनामा राखिएको दाबि गर्दै उनले सर्वोच्चमा बन्दी निवेदन दिएका थिए।
यसैबिच, महासचिव बास्तोलालाई गैरन्यायिक हिरासतमा राखेको भन्दै नेकपा (बहुमत) सम्बद्ध युवा र विद्यार्थीहरुले प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको पुत्ला दहन गरिएको थियो ।
आज (मंगलबार) साँझ नेकपा (बहुमत)ले मसाल जुलुस निकालेको छ । महासचिव धमेन्द्र बास्तोलाको गैरन्यायिक गिरफ्तारीको विरोध गर्दै बहुमतका नेता तथा कार्यकर्ताले राजधानी काठमाडौंमा आज राँके जुलुस निकालेका हुन् ।
































