काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पेट्रोलियम पदार्थको मुल्यबृद्धि, खाना पकाउने ग्यास लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव र कालोबजारीमा संलग्नलाई कारबाही गर्न जोडदार माग गरेको छ । र, बजार अनुगमन गरी कालोबजारी हटाएर उपभोग्य वस्तुहरु सर्वसुलभ बनाउन र महङ्गीको श्रोतका रुपमा रहेको पेट्रोलियम पदार्थको मुल्य बृद्धि घटाउन पनि जोडदार माग गरेको छ ।
पार्टीका प्रवक्ता सुदर्शनले जारी गर्नुभएको वक्तव्यमा सरोकारवाला निकाय, राजनीतिक दलहरु र व्यवसायीहरुलाई जिम्मेवार तथा उत्तरदायी बन्न विशेष आग्रह गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “नेपालमा एकातिर संसदीय निर्वाचनमा संसदवादी पार्टीहरु जनतामाझ झुट्ठा आश्वासनहरु बाँड्दै प्रचार–प्रसारमा दौडिरहेका छन् भने अर्कोतिर जनताका दैनिक उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव सिर्जना गरिएको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्धि, खाना पकाउने ग्यास लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव र कालोबजारीको अवस्था देखिनु अत्यन्त गम्भीर विषय हो ।
त्यसकारण हामी समग्र राज्यसत्तालाई ग्यास तथा अन्य उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव सिर्जना गर्ने तत्वहरुको पहिचान गरी कडा कार्वाही गर्न, बजार अनुगमन गरी कालोबजारी हटाएर उपभोग्य वस्तुहरु सर्वसुलभ बनाउन र महङ्गीको श्रोतका रुपमा रहेको पेट्रोलियम पदार्थको मुल्य बृद्धि घटाउन जोडदार माग गर्दछौँ । अन्ततः सरोकारवाला निकाय, राजनीतिक दलहरु र व्यवसायीहरुलाई जिम्मेवार तथा उत्तरदायी बन्न हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विशेष आग्रह गर्दछ ।”
































