काठमाण्डौ । नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोला र नेकपाका अध्यक्ष ऋषि कट्टेलको पक्राउका विरुद्ध दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । नेता धर्मेन्द्र बास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले २०८२ फागुन ११ गते यस्तो आदेश जारी गरेको हो ।
आदेशमा निवेदकको बन्दी प्रत्यक्षीकरणको आदेश के कति कारणले आदेश जारी हुनु नपर्ने हो आदेश जारी हुनु नपर्ने भए कारण सहित बाटोका म्याद बाहेक २४ घण्टाभित्र महान्याधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न प्रत्यर्थी काठमाण्डौ उपत्यका अपराध कार्यालय टेकुसमेतलाई आदेश दिइएको छ । म्यादभित्र लिखित जवाफ परे वा नपरे नियमानुसार गर्न आदेश आदेश दिइएको छ ।
निवेदक सावित्री कुमारी वलीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु चुडाबहादुर निरौला ,देवकुमार मोक्तान ,फर्णिन्द्र कार्की ,कविता बस्नेत, दीपक विक्रम मिश्र , रुविना शंकरले बहस गर्नु भएको थियो ।
त्यसैगरी नेकपा अध्यक्ष ऋषि कट्टेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले फागुन १० गते कारण देखाउ आदेश जारी गरेको छ । माननीय न्यायधीश टेकप्रसाद ढुङ्गानाबाट विपक्षी नेपाल सरकार गृह मन्त्रालयलाई के कति कारणले निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने हो सोको कानुन बमोजिमको कारण भए लिखित जवाफसहित महान्यायधिवक्ताको कार्यालय मार्फत२०८२ फागुन १२ गते १० बजे सुनुवाइकोलागि अदालतमा उपस्थित गराउन आदेश जारी भएको हो ।
सो सम्बन्धमा अधिवक्ताहरु एकराज भण्डारी, रमेश बडाल, कपिलचन्द्र पोख्रेल, भोजराज आचार्य,पुन्यप्रसाद खतिवडा धर्मराज रेग्मी ,धनञ्जय खनाल, दीपक विक्रम मिश्र,फर्णिन्द्र कार्की लगायतको बहस रहेको थियो ।
नेकपा अध्यक्ष ऋषि कट्टेल फागुन ६ गते कीर्तिपुरस्थित आफ्नै कार्यालयबाट प्रहरीले गिरफ्तार गरी काठमाण्डौ प्रहरी परिसर भद्रकालीमा हिरासतमा राखेको छ ।
ऋषि कट्टेललाई गैरकानुनी हिरासतमा राखिएकोमा ऋषि कट्टेलका छोरा रुपेश कट्टेलले फागुन ८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो ।
































