मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

काठमाडौ । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका– ७, अँधेरी जोगीटोलस्थित खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाका अनुसार कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा।२ख ६२५७ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

उनका अनुसार घाइतेमध्ये चारजना मध्यम र ११ जना सामान्य घाइते छन् । घाइते हुनेहरूमा त्रियुगा नगरपालिका– ११ बस्ने वर्ष २२ की मणिका मगर, कटारी नगरपालिका– ४ बस्ने वर्ष ३५ की अनिता चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उदयपुरगढी गाउँपालिका– ७ बस्ने वर्ष ७३ की सोममाया मगरको टाउकोमा गम्भीर चोट लागेको छ । ताप्ली गाउँपालिका– ५ बस्ने वर्ष ४० का प्रकाश भुजेलको शरीरका विभिन्न भागमा चोट लागेको छ । त्रियुगा नगरपालिका– ७ चुहाडे बस्ने वर्ष २१ की रेशिका बस्नेतको शरीरका विभिन्न भागमा चोट लागेको छ । रौतामाई गाउँपालिका– ७ बस्ने वर्ष १७ का तिलक बस्नेत सामान्य घाइते भएका छन् ।

यसैगरी, उदयपुरगढी गाउँपालिका– ६ टाडे बस्ने वर्ष १० का दीपेश तामाङ सामान्य घाइते भएका छन् । कटारी नगरपालिका– ४ बस्ने वर्ष १९ की पवित्रा श्रेष्ठ सामान्य घाइते भएकी छिन् । त्रियुगा नगरपालिका– ५ बस्ने वर्ष २० की रेश्मा बस्नेत सामान्य घाइते भएकी छिन् । कटारी नगरपालिका– २ गोलपार्क बस्ने वर्ष ६० की सोममाया परियार गम्भीर घाइते भएकी छिन् । कटारी नगरपालिका– ३ बस्ने वर्ष २७ का नितेश बुढाथोकी सहचालक सामान्य घाइते भएका छन् ।

त्यस्तै, उदयपुर कटारी नगरपालिका– ५ बस्ने वर्ष ७८ का दलबहादुर तामाङ, कटारी नगरपालिका– ४ बस्ने वर्ष १५ का प्रेम तामाङ, ताप्ली गाउँपालिका– ५ रूपाटार बस्ने वर्ष २८ का सुवास नेपाली र कटारी नगरपालिका– ४ बस्ने वर्ष १५ का सुजन तामाङ सामान्य घाइते भएका छन् ।

दुर्घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार गरेको थियो । बसका चालक उदयपुरको कटारी नगरपालिका– ४ बस्ने ४५ वर्षीय विक्रम राईलाई प्रहरी चौकी संगमचोकले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण ब्रेक फेल भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।