जेनजी युवाहरुलाई नेता सुदर्शन प्रश्न : ‘यो देश बचाउने कि नबचाउने ? पराधीन सरकार बनाउने कि स्वाधीन सरकार ?’

जेनजी युवाहरुलाई नेता सुदर्शन प्रश्न : ‘यो देश बचाउने कि नबचाउने ? पराधीन सरकार बनाउने कि स्वाधीन सरकार ?’

दाङ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले जेनजी युवाहरुको काँधमा बन्दुक राखेर नेपालको स्वाधीनतामाथि हमला गरेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ले जेनजी युवाहरुलाई प्रश्न गर्नुभयो– “अब त थाहा भयो होला नि जेनजी युवा भाइवहिनीहरुलाई ? यो देश बचाउने कि नबचाउने ? सुशिला कार्कीको पराधीन कठ्पुतली सरकार राखिराख्ने कि त्यसलाई विघटन गरेर स्वाधीन संयुक्त सरकार बनाउने ?”

नेता सुदर्शनले साम्राज्यवादी र विस्तारवादीहरुले एमाले, कांग्रेस र माओवादी केन्द्र लगायतका संसदवादी पार्टीभित्रका एजेन्टहरुलाई प्रयोग गरेर जेनजी विद्रोह मच्चाइएको भन्दै जेनजी विद्रोहकै तागतमा बनेको सुशिला कार्कीले तीन महिना वित्न लाग्दा पनि किन जेनजीहरुका माग पूरा नगरेर केवल चुनावको राग अलापिरहेकी छिन् भन्दै प्रश्न गर्नुभयो र भन्नुभयो, “यो जेनजी विद्रोहमाथिको धोका हो ।” साम्राज्यवादीहरुले युवा विद्यार्थीहरुले राजनीति गर्नु हुँदैन, राजनीति भनेको फोहरी खेल हो भन्दै युवा विद्यार्थीहरुलाई नै राजनीतिमा होमिदिएको भन्दै अब जेनजी युवाहरुले राजनीतिपछाडिको गम्भीर षड्यन्त्र, देशद्रोह र स्वाधीनतामाथिको आक्रमणलाई गहिरोसँग बुझ्नुपर्ने पनि बताउनु भयो ।

 

उहाँले जेनजी विद्रोहको आवरणमा लुकेको गम्भीर षड्यन्त्रको भण्डाफोर गर्दै अब देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डता बचाउन यो देशका सच्चा देशभक्त, क्रान्तिकारी, प्रगतिशील, जनतन्त्र तथा लोकतन्त्रवादीहरुबिचमा संयुक्त राजनीतिक सम्मेलन गरेर स्वाधीन संयुक्त सरकार निर्माण गर्न सम्बन्धित सबैमा हार्दिक आव्हान पनि गर्नुभयो ।

पार्टीको ४ नम्बर ब्यूरोद्वारा आइतबार घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “अहिलेको राजनीतिक तथा आर्थिक संकट संसदभित्रका दलहरूले समाधान गर्न नसक्ने अवस्थामा पुगेको छ, र विकल्पका रूपमा संसदबाहिरको क्रान्तिकारी शक्तिको भूमिका बढ्न थालेको छ।”

कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि वर्तमान सत्ता संरचना, विदेशी हस्तक्षेप, तथा जेन्जी आन्दोलनको माग सम्बोधनमा भइरहेको गैरजिम्मेवारीपनका विरुद्धमा आक्रोश व्यक्त गरेका थिए।