कमरेड गौरवको संघर्षपूर्ण गौरवशाली राजनीतिक यात्रा : पार्टी सदस्यतादेखि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवसम्म

कमरेड गौरवको संघर्षपूर्ण गौरवशाली राजनीतिक यात्रा : पार्टी सदस्यतादेखि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवसम्म

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो बैठकले नेता सीपी गजुरेललाई पार्टी महासचिवमा चयन गरेको छ । पार्टीका निवर्तमान महासचिव मोहन वैद्य किरणले स्वास्थ्य अवस्थाका कारण राजिनामा दिएपछि केन्द्रीय समितिले उहाँलाई महासचिवमा चयन गरेको हो । गत माघ महिनादेखि उहाँले कार्यवाहक महासचिवको जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आउनु भएको थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा सीपी गजुरेल गौरवको निकै लामो योगदान रहेको छ। सीपी गजुरेलको पुरा नाम चन्द्रप्रसाद गजुरेल हो। पार्टी जीवनमा गजुरेलले विभिन्न उपनामबाट काम गर्नुभएको छ । गौरव, विजय, सञ्जीव, रणधिर जस्ता उपनाम (टेक नाम) बाट उहाँले काम गर्नुभएको हो। रामेश्वर गजुरेल र टेक कुमारी गजुरेलको कोखबाट २००४ साल चैत्र १९ गते सिन्धुली जिल्लाको सिन्धुलीमाडीमा सी.पी. गजुरेलको जन्म भएको थियो । उहाँले विएस्सी सम्मको अध्ययन पूरा गर्नुभएको छ। सी.पी.ले सिन्धुलीमाडीको कमला हाइस्कूलबाट अध्ययन शुरु गर्नु भयो र सोही स्कूलबाट एस.एल.सी.उतीर्ण गर्नुभयो । उहाँले त्रिचन्द्र कलेजबाट आइ.एस्सी र वि.एस्सी. अध्ययन गर्नुभयो । उहाँले ७ वर्ष शिक्षक जीवन बिताउनुभयो । आफै विद्यार्थी भएको कमला हाइस्कूलमा करिब साढे ४ वर्ष पढाउनुभयो । २ वर्ष रामेछापको सदरमुकामस्थित गौरीशङ्कर हाइस्कूलमा पढाउनुभयो र थोरै थोरै समय धनुषाको जनकपुर र दोलखाको जिरी पुगेर पनि शिक्षण कार्य गर्नुभयो ।

काठमाडौँको त्रिचन्द्र कलेजमा पढ्ने बेला साथीहरुको संगतमा परेर उहाँ माक्र्सवादी विचारप्रति प्रभावित हुनुभएको थियो । त्यसो त सिन्धुलीमा कम्युनिष्ट पार्टीसँग आबद्ध भएका व्यक्तिहरू काठमाडौँ आएका बेला सीपी गजुरेल लगायतका युवाहरुलाई भेटघाट गर्ने काम गुर्नहुन्थ्यो । त्यसले पनि उहाँलाई कम्युनिस्ट आन्दोलनमा लाग्न अझ प्रेरित गर्यो । २०२३ सालमा उहाँले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएको थियो । त्यतिबेलाका सक्रिय नेता ऋषि देवकोटा आजाद सहित उहाँ सिन्धुली जिल्ला पार्टीमा रहनुभएको थियो । उहाँले करिब साढे ६ वर्षको जेल जीवन पनि बिताउनु भएको छ ।

राष्ट्र विप्लवको मुद्दामा २०३५ सालदेखि २०३७ सम्म उहाँले सिन्धुली, जलेश्वर, मलंगवा, वीरगंज, काठमाडौं सेन्ट्रल जेल, नखुलगायतका जेलहरुमा जेल जीवन विताउनु भयो । खास गरी सिन्धुलीमा पटक पटक सार्वजनिक सुरक्षा ऐन अन्तर्गत उहाँलाई जेल र हिरासतमा राख्ने गरिएको थियो । २०३६ सालको जनमत संग्रहका दौरानमा सबै राजबन्दीको आम माफीमा काठमाडौँको नखु जेलबाट उहाँ रिहा हुनुभएको थियो । जनयुद्धको बेला २०६० सालमा भारतको चेन्नेइबाट लन्डन जान थालेको बेला एयरपोर्टबाट नै उहाँ गिरफ्तार हुनुभएको थियो । नेपालमा शान्ति सम्झौता र त्यसपछि विकसित राजनीतिक परिस्थितिमा भारतको केन्द्र सरकार र पश्चिम बङ्गाल सरकारबाट मुद्दा फिर्ता लिएपछि उहाँ जल्पाईगुडी जेलबाट मोहन वैद्य किरणसँगै २०६३ सालमा रिहा हुनुभएको थियो ।
२०३७ सालमा पार्टीको केन्द्रीय सदस्य हुनुभएको उहाँ २०४० मा भारतको गोरखपुरमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (मशाल) को वैकल्पिक पीबीएम बन्नुभएको थियो । २०४१ साल मंसिरमा भारतको अयोध्यामा सम्पन्न नेकपा (मशाल) को पाँचौं महाधिवेशनबाट सीपी गजुरेल पीबीएम बन्नुभएको थियो। २०४२ सालमा नेकपा मशाल विभाजन भइसकेपछि उहाँ नेकपा मोटो मशालमा रहनुभयो र उहाँले लामो समयसम्म प्रवासमा रहेर पनि काम गर्नुभएको थियो ।

उहाँले अविभाजितकालीनअखिल भारत नेपाली एकता समाजको महासचिव रहेर काम गर्नुभएको थियो । त्यतिबेला समाजकोअध्यक्ष गोबिन्द सिंह थापा हुनुहुन्थ्यो भने उहाँ विजय शर्माको नामबाट महासचिव हुनुहुन्थ्यो । २०४२ सालमा अखिल भारत नेपाली एकता समाजको विभाजन भयो । दिल्लीमा सम्मेलन गर्ने पक्षलाई दिल्ली पक्ष र कलकत्तामा सम्मेलन गर्ने पक्षलाई कलकत्ते पक्ष भनियो । दिल्लीमा सम्मेलन गर्ने पक्षको नेतृत्व गोविन्द सिंह थापाले गर्नुभएको थियो भने कलकत्तामा सम्मेलन गर्ने पक्षको नेतृत्व विजय शर्माले गर्नुभएको थियो । तर अहिले संयोग यस्तो भएको छ कि ती दिल्ली पक्षको नेतृत्व गर्ने र कलकते पक्षको नेतृत्व गर्ने दुवै एउटै पार्टीमा हुनुहुन्छ । अहिले विजय शर्मा उर्फ सीपी गजुरेल पार्टीको महासचिव हुनुहुन्छ भने गोविन्द सिंह थापा सोही पार्टीको केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष हुनुहुन्छ। गजुरेल २०४७ मा नेकपा (एकताकेन्द्र) को पि.वि.एम., १० वर्षे जनयुद्धमा एक महत्त्वपूर्ण नेताको भूमिका, २०६५ मा नेकपा (माओवादी) को सेक्रेटरीयट सदस्य, २०६७ मा एनेकपा (माओवादी) केन्द्रीय समिति सचिव, २०६९ मा नेकपा–माओवादीको केन्द्रीय उपाध्यक्ष, २०७२ मा नेकपा (क्रान्तिकारी माओवादी) को कार्यालय सदस्य र २०८१ मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको वरिष्ठ नेता रही काम गर्नु भएको थियो । उहाँ २०६४ सालमा सिन्धुली जिल्ला क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फबाट संविधान सभा सदस्यमा पनि निर्वाचित हुनु भएको थियो ।

२०५१ सालमा नेकपा (एकता केन्द्र) विभाजन भई एउटा पक्षले पार्टीको नाम नेकपा (माओवादी) राख्यो । उहाँ नेकपा (माओवादी)मा आबद्ध हुनुभयो। जनयुद्धको प्रारम्भिक कालमा उहाँ नेपालमै रहनुभयो भने उहाँ लामो समयसम्म प्रवासमा रहेर पार्टीको विदेश विभागको प्रमुख रहेर पार्टीको जिम्मेवारी पूरा गर्नुभयो। उहाँ रिममा आबद्ध भएर संसारभरि नै जनयुद्धको प्रचारप्रसार र त्यसको पक्षमा समर्थन जुटाउनका लागि महत्वपूर्ण भूमिका खेल्नुभयो । २०६९ सालमा एकीकृत नेकपा माओवादी संसदवादमा भाँसियो भन्ने निष्कर्ष निकाल्दै मोहन बैद्य किरणको नेतृत्वमा नेकपा–माओवादी पुनर्गठन गर्ने काम भएको थियो। त्यस क्रममा उहाँ मोहन बैद्य किरणको नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्ने कार्यमा लाग्नुभएको थियो। २०७२ सालमा नेकपा – माओवादी र नेकपा (एकीकृत) का बीचमा एकता गरी नेकपा (क्रान्तिकारी माओवादी) निर्माणमा पनि उहाँले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । नेकपा– माओवादीबाट विप्लव समूह फुटेर जाँदा वा नेकपा (क्रान्तिकारी माओवादी) बाट बादल, देव गुरुङ लगायतको टिम पार्टी परित्याग गरी माओवादी केन्द्रमा समाहित हुन जाँदा पनि सीपी गजुरेलले क्रान्तिकारी धारको पक्षपोषण गर्दै मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी माओवादीलाई नै सुदृढ गर्ने कार्यमा लाग्नुभयो। नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) को बीचमा २०८० साल वैशाख १८ गते एकता भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनेको थियो । २०८१ साल वैशाख १८ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा मशालका बीचमा पार्टी एकीकरण भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वरिष्ठ नेताको रुपमा काम गर्नु भयो । २०८१ साल मङ्सिर १३ देखि २३ सम्म कीर्तिपुरमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनबाट सीपी गजुरेल स्थायी सदस्य रहनुभएको थियो । पार्टी महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा समस्या आएपछि उहाँले पार्टीको कार्यवाहक महासचिवको जिम्मेवारी गत माघ महिनादेखि गर्दै आउनु भएको थियो ।

पार्टी कामकै सिलसिलामा उहाँले बङ्गलादेश, बेल्जियम, चिन, फ्रान्स, जर्मनी, जापान, मलेसिया, कतार, नेदरल्यान्ड, पोर्चुगल, साउदी अरबिया, दक्षिण कोरिया ,स्विजरल्यान्ड, संयुक्त अधिराज्य युके ,संयुक्त राज्य अमेरिका, भेनेजुयला लगायतका देशहरूको भ्रमण गर्नुभएको छ । ऐतिहासिक भौतिकवाद के हो ?, तीन महापुरुषको जीवनी (माक्र्स, लेनिन, माओ), पेरु क्रान्तिबारे, नेपाली क्रान्तिका राजनीतिक पहलुहरु, क्रान्ति र प्रतिक्रान्तिका श्रृङ्खला, एयष्तिष्अब िएभचकउभअतष्खभक या तजभ ल्भउबभिकभ च्भखयगितष्यल लगायतका दार्शनिक, राजनीतिक तथा वैचारिक पुस्तकहरु उहाँले लेख्नु भएको छ । मधु (खण्डकाव्य), प्रतिरोध (कथासङ्ग्रह), झुल्के घाम (कथासंग्रह) र देशभक्तिमा खडेरी (निबन्धसंग्रह) लगायतका शीर्षकमा उहाँका साहित्यिक कृतिहरु प्रकाशित छन् ।

जेन जी विद्रोहपछि विकसित असाधारण परिस्थिति र देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डता गम्भीर संकटमा परेको बेला क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई नेतृत्व प्रदान गर्ने ऐतिहासिक जिम्मेवारी उहाँको काँधमा आएको छ । भीषण अन्तर्संघर्ष र वर्गसंघर्षका अमूल्य अनुभवहरुले समृद्ध एक शिखर राजनीतिक व्यक्तित्व सिपी गजुरेल गौरव त्यो जिम्मेवारी पूरा गर्न निश्चिय पनि सफल हुनुहनेछ भन्ने सिंगो पार्टीपंक्ति र जनपंक्तिले विश्वास लिएका छन् ।