प्रा.डा.जगदीशचन्द्रको कविता संग्रह ‘व्यवस्थाको कन्चट’को विमोचन

प्रा.डा.जगदीशचन्द्रको कविता संग्रह ‘व्यवस्थाको कन्चट’को विमोचन

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जारी केन्द्रीय समितिको बैठकका बिच प्रा.डा. जगदीशचन्द्र भण्डारीको कविता संग्रह ‘व्यवस्थाको कन्चट’को विमोचन गरिएको छ । पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरव लगायत पार्टीका शीर्ष नेताहरुले एकसाथ विमोचन गर्नुभएको थियो ।

जनविद्रोह र क्रान्तिकारी आन्दोलनका निम्ति समर्पित गरिएको कविता संग्रहमा १८४ वटा कविता संग्रहित रहेका छन् । डा.इप्सा भण्डारी र निशीत भण्डारीले प्रकाशनमा ल्याउनु भएको कवितासंग्रह १८४ पृष्ठको रहेको छ भने मूल्य रु.५०० रहेको छ ।
प्रस्तुत कविता संग्रहमा राष्ट्रिय र वर्गीय आत्मसमर्पणवाद, संशोधनवाद र अवसरवादका विरुद्ध कडा रुपमा काव्यिक प्रहार गरिएको छ । जगदीशचन्द्रका कविताहरु भ्रष्ट, नालायक र निकम्मा संसदीय व्यवस्थाको अन्त्य गरी नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने महान उद्देश्य र सर्वहारावर्गीय मूल्य र आदर्शप्रति समर्पित छन् ।

माक्र्सवादी नेपाली समालोचनामा सक्रिय प्रा.डा. जगदीश चन्द्र भण्डारी (२०१९) को सिर्जना आरम्भ कविका रूपमा भएको हो । ’वर्तमान जन्मन खोजिरहेछ’ (२०४०) उहाँको पहिलो कविता सङ्ग्रह हो र ’मुक्तिक्षेत्रको यात्रामा’ (२०४८) कविता सङ्ग्रह पनि प्रकाशित छ । भण्डारीले निबन्ध र बाल साहित्यका क्षेत्रमा पनि आफ्नो उपस्थिति देखाउनुभएको छ ।

प्रगतिवादी नेपाली कवितामा विद्यावारिधि गर्नु भएका भण्डारीका वर्तमान जन्मन खोजिरहेछ (२०३९), मेरा आँखामा तानाका कथा र जमर्काहरू (२०४०), अँध्यारोमा चल्मलाएका शब्दहरू (२०४७), मुक्तिक्षेत्रको यात्रामा (२०४८) ’साहित्य चिन्तन र विवेचन’ (२०५०), ’प्रगतिवादी नेपाली कविता : रेखाङ्कन र विश्लेषण’ (२०५५), आँखाका यी नानी (२०५९), ’पृथक् सृजन : पृथक् निरुपण’ (२०६०), ’सौन्दर्यको भूमिका’ (२०६५), सौन्दर्यको अन्वीक्षण (२०७५), मौलिक कृति हुन् भने साहित्य र यथार्थ (अनुवाद २०५१) तथा प्रतिनिधि नेपाली समालोचना (२०६८), माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य (२०६७), समकालीन नेपाली कवितामा वर्ग सौन्दर्य (२०८१), माक्र्सवादी साहित्य र संस्कृति चिन्तन (२०८२) प्रभूति कृतिको सहसम्पादन समेत गर्नुभएको छ ।

अनुवाद र सम्पादनका क्षेत्रमा पनि उहाँ क्रियाशील हुनुहुन्छ । साहित्य कलाको माओवादी मापदण्डलाई आधार बनाउने भण्डारीका समालोचनामा माक्र्सवादको भ्रष्टीकरणका विरुद्ध प्रखर आलोचनात्मक प्रस्तुति देखिन्छ । उहाँ माक्र्सवादी सौन्दर्यचिन्तनका क्षेत्रमा पनि सक्रिय तथा प्रखर हुनुहुन्छ । हाल उहाँ इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्य समिति सदस्यका साथै नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ ।