सहिद नन्दलाल डाँगी सङ्क्षिप्त परिचय

सहिद नन्दलाल डाँगी सङ्क्षिप्त परिचय

सहिदगाथा

कर्णाली प्रदेशको सल्यान जिल्ला अन्तरगत तत्कालीन कुपिण्डेदह गा.बि.स. वडा नम्बर ६ हालको कुपिण्डेदह बन्गार नगरपालिका वडा नम्बर ९ माथिल्लो स्वारामा २०४० सालमा बुबा देविराम डाँगी र आमा बेलमति डाँगीको कोखबाट कान्छा छोराको रूपमा नन्दलालको जन्म भएको थियो । एस.एल.सी.सम्मको अध्ययन पूरा गरेका नन्दलाल राजनीतिक रूपमा कुनै पनि पार्टीको सदस्यता लिनुभएको थिएन । यद्यपि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धबाट प्रभावित भई माओवादी नजिक भने रहनुभएको थियो । पारिवारिक आर्थिक अवस्था कमजोर भएको कारणले उहाँ उच्च शिक्षा लिने अबसरबाट बञ्चित हुनुप¥यो । तसर्थ घरको आर्थिक सहयोगका लागि गाउँमै रहेको स्थानीय जनकल्याण प्रा.वि. स्वारामा निजी स्रोतबाट दिवा खाजा पकाउने विद्यार्थीहरूलाई खाजा खुवाउने काममा जोडिनुभएको थियो । सो अवस्थामा २०५९ असोज सात गते सिमखर्क ब्यारेकबाट गएको तत्कालीन शाही नेपाली सेनाको टोलीले दिउँसो १ बजे विद्यालयबाट गिरफ्तार ग¥यो । गिरफ्तारीपछि चरम शारीरिक र मानसिक यातना दिँदै करिब दुई घण्टा गाउँमा घुमायो । त्यसपछि २ ः ४५ बजेको समय जङ्गलमा एक्कासी तीन फायर राइफलको आवाज सुनिन्छ । त्यही आवाज नै उहाँको अन्तिम दिन हुन गएछ । यसरी उहाँ जनयुद्धको एक सहिद बन्न पुग्नुभयो । त्यस समयमा सोही विद्यालयका हामी दुईजना शिक्षकलाई सेनाले गिरफ्तार गरेर सल्यान खलङ्गातर्फ लगेको हुनाले सैनिक हिरासतबाट मुक्त भएर आएपछि मात्रै नन्दलाल सहिद भएको जानकारी पायौँ ।

उहाँको गिरफ्तारी र जङ्गलमा पट्किएको बन्दुकको आवाजले स्वारा गाउँमा सन्नाटा छाउँछ । कसैलाई पनि थाहा हुँदैन । दिन ढल्दै जान्छ, बेलुकी हुन्छ । रात पर्छ । तर, घरको कान्छो छोरा विद्यालयबाट फर्कंदैन । बाआमा दाजुहरू श्रीमती हरकली डाँगी चिन्तित हुन्छन् ।

गाउँको मानिसबाट एक जना मानिसको बाहुननोखा जङ्गलमा ओढार नजिकै ढलेको छ कतै उही त होइन नन्दलाल भन्ने खबर आउँछ । सो खबरले सबैमा सङ्का बढ्दै जान्छ । त्यसपछि निजका जेठा दाजु ईन्द्रबहादुर डाँगी माइला दाजु छबिलाल डाँगी सहित गाउँका केही मानिसहरू खोज्न निस्कछन् र त्यस ठाउँमा पुग्छन् । त्यहाँ त उनै भाइ नन्दलाल मृत भइसकेको र रक्ताम्य अवस्थामा फेला पर्छन् । दुस्मनले हानेको राइफलको तीनवटा गोली टाउको, छाति र पेटमा लोगेको देखिन्छ ।

अहिले उहाँको परिवारमा आमा, दुईजना दाजु, एक दिदी, श्रीमती र छोरी डोल्मा छन् । नन्दलालको हत्या भएको ठिक एक महिनापछि छोरी डोल्माको जन्म भएको थियो ।

यसरी एकजना निर्दाेष होनहार युवाको हत्या भएको थियो । अहिले नन्दलालको सहादत भएको पनि ठिक २३ वर्ष पूरा भएको छ । छोरी डोल्मा पनि २३ वर्ष पुगेकी छिन् । यो बिचमा जनयुद्धको नेतृत्व गरेको पार्टी र मुख्य नेतृत्वले तीन पटक सरकारको नेतृत्व गर्ने अवसर पायो । तर, सहिदले बगाएको रगतको मूल्यलाई राष्ट्रघातमा प्रयोग गरिरहेका छन् । अब पनि सहिद परिवार, घाइते अपाङ्ग, तथा योद्धाहरूले यो दलाल सत्ता र नेतृत्वबाट आफ्नो सपना पूरा हुन्छ भनेर बस्ने बेला छैन । हिजोको सपना पूरा गर्न पुनः विद्रोह गर्नुपर्ने बेला आएको छ । आज २३औं स्मृतिका दिनमा सहिद नन्दलालप्रति भावपूर्ण श्रद्धाञ्जली । छोरी डोल्मा र सहिद पत्नी हरकली र समस्त डाँगी परिवारमा गहिरो समवेदना व्यक्त गर्दै यो सङ्क्षिप्त घटना परिचयको बिट मार्दछु ।
७ असोज २०८२, तुलसीपुर, दाङ