
काठमाडौं । काठमाडौं उपत्यकामा भीषण वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि काठमाडौंमा निरन्तर वर्षा जारी छ । भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार बिहान ६ बजे काठमाडौं उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीखोलामा जलसतह बढ्दो क्रममा रहको छ ।

नदीतटीय क्षेत्रमा रहने र नदीकिनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । भीषण वर्षाको कारण काठमाडौं जलमग्न भएको छ भने मनोहरा, थापाथली, गौरीघाट, बल्खु लगायतका बस्तीमा बाढी पसेको छ । त्यस्तै शंखमूल पार्क, युएन पार्क पनि बाढी पसेर जलमग्न बनेको छ ।

सोमबार रातिदेखिको निरन्तरको वर्षापछि काठमाडौंका खोला वरिपरिका बस्ती डुबानमा परेका छन् । आसपासका नदीमा जल सतह बढेपछि काठमाडौं उपत्यकाका टेकु, कपन, ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालय र च्यासल फुटबल मैदान लगायतका ठाउँ डुबानमा परेका छन् ।






























