सिंगापुरका गोर्खा पुलिसहरु बिगेसोमा संगठित हुँदै, काठमाडौंमा गरियो वृहत् अन्तरक्रिया (फोटोफिचरसहित)

प्रकाशित मिति : २०७६ श्रावण १९


काठमाडौं । सन् १९४७ को गोरखा भर्तीसम्बन्धी असमान त्रिपक्षीय सम्झौता खारेजीका लागि जोडदार रुपमा आवाज उठाउँदै आएको बिगेसोमा भूतपूर्व गोरखा सैनिक तथा पुलिसहरु संगठित हुने क्रम दिनदिनै बढ्दै गएको छ । सिंगापुर गोरखा पुलिसहरु आफूहरुले पाउँदै आएको सेवा सुविधा वृद्धि गर्नुपर्ने, विभेदहरुको अन्त्य गरिनु पर्ने लगायतका १२ बुँदे माग राखेर आवाज उठाउँदै आएका छन् र उनीहरु आफ्ना सबै अधिकार प्राप्तिका लागि गोरखा सैनिक तथा पुलिसहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने भन्दै बिगेसोमा संगठित हुन आइपुगेका छन् । संगठित भएका सिंगापुरे गोरखा पुलिसहरुले शनिबार ललितपुरको चुम्लुङ भवनमा एक वृहत् अन्तक्र्रिया कार्यक्रम समेतको आयोजना गरे । बिगेसो सिंगापुर विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, अखिल नेपाल जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङ, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, जनजाति महासंघका महासचिव नगेन्द्र राई, अधिवक्ता फडिन्द्र कार्कीलगायतको अतिथिको रुपमा उपस्थिति थियो । कार्यक्रम बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बूको अध्यक्षतामा भएको थियो ।


कार्यक्रममा बिगेसो सिंगापुर विभागका उपाध्यक्ष कुमार राईले सिंगापुर गोरखा पुलिस परिवारले भोग्नुपरेका १२ वटा समस्याहरुको बारेमा चर्चा गरेका थिए । पहिचान, पेन्सन वृद्धि, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकताको परिपूर्ति, पिआर, रोजगारी, घाइते अपाङ्गको व्यवस्थापन लगायतका विषयहरु बारम्बार उठाउँदै आएको र त्यो विषयमा नेपाल सरकार र बेलायत सरकारसँग कुरा गर्न, आन्दोलन गर्न तथा मागहरु पूरा गराउनका लागि बिगेसोबाहेक अन्य संगठनबाट सम्भव नदेखिएकोले सिंगापुरमा कार्यरत गोरखा पुलिसहरु बिगेसोमा संगठित हुनुपर्ने बताए ।
बिगेसोले भूतपूर्व गोर्खा र गोर्खा सैनिक परिवारका हक, अधिकारका निम्ति बेलायतमा र नेपालमा कानुनी लडाइँ र अन्य मुलुकहरुमा समेत संघर्षका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । उसले सन् १९४७ को त्रिपक्षीय गोर्खा भर्ती सन्धि सम्झौतालाई औचित्यहीन, असमान र विभेदकारी बताउँदै गोर्खा भर्तीकेन्द्रले गोर्खा जनसमुदायका निम्ति मन्दविषको रुपमा काम गरिरहेकोले यसको अविलम्ब खारेजी गरिनु पर्ने विषयलाई जोडदार रुपमा उठाउँदै आएको छ । र, यो विभेदकारी सन्धि खारेजीका निम्ति तमाम प्रमाणहरुसहित बिगेसोले नेपालको सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरिसकेको छ । यो सन्धिले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनतामाथि हस्तक्षेप गर्दै २१ औं शताब्दीमा पनि कुनै न कुनै रुपमा गोर्खाहरुलाई दास बनाउने र भाडाका सिपाहीको रुपमा प्रयोग गर्ने गर्ने गरेको, गोर्खाहरुलाई तेस्रो दर्जाको नागरिकको व्यवहार गरिनु, तलब, पेन्सन, सेवा सुविधामा विभेद गर्नु, खास खास युद्धको समाम्तिपछि सेवाबाट बीचैमा निकाली रित्तँे हात घर फर्काउनु, नेपालले आफ्ना अवकास प्राप्त ब्रिटिश गोर्खालाई बेलायत तथा अन्य मुलुकमा बसोबास गरेको भन्दै नागरिकताबाट बञ्चित गराई राज्यविहिनताको स्थितिमा पु¥याउनु, गोर्खाहरुको जतिसुकै क्षमता भएपनि मेजरभन्दा माथि जान नदिनु, विभिन्न बहानामा नेपालका असल छिमेकीका विरुद्ध गोर्खालाई प्रयोग गर्ने गरेको भन्दै गोर्खा भर्तिकेन्द्र बन्द गरिनुपर्ने माग बिगेसोले गर्दै आएको छ ।

अन्तक्र्रिया कार्यक्रममा बिगेसोका अध्यक्ष लिम्बूले गोर्खाहरु नेपालको राष्ट्रिय स्वाधीनताप्रति निकै नै संवेदनशील रहेको भन्दै गोर्खाहरुको आत्मसम्मान र राष्ट्रिय स्वाभिमानमा ठेस पु¥याउने काम भइरहेको हुनाले त्रिपक्षीय सन्धि खारेज गर्नुपर्ने र गोर्खाभर्तिकेन्द्र अविलम्ब खारेज गरिनुपर्ने बताए । बिगेसो विश्वभर छरिएर रहेका सबै गोर्खा सैनिकहरुको हक र अधिकारका निम्ति लड्ने साझा संगठन भएकोले सबै विभेद, उपेक्षा र उत्पीडनमा परेका र पारिएका गोर्खा सैनिकहरुलाई बिगेसोमा संगठित भई बृहत् संघर्षको उठानमा लाग्न आव्हान समेत गरे ।


त्यसैगरी अतिथिहरु परि थापा, प्रा.डा. ओम गुरुङ, हिरण्यलाल श्रेष्ठ, नगेन्द्र राई, फडिन्द्र कार्की लगायतका वक्ताहरुले आफूमाथि भइरहेको विभेद, असमानता, उपेक्षा र उत्पीडनको मुख्य कारण त्रिपक्षीय सन्धि रहेको र त्यसको खारेजी अपरिहार्य रहेको कुरा बताउँदै सबै गोर्खा सैनिकहरु अब आफ्नो हक, हित र अधिकारका लागि लडिरहेको बिगेसोमा संगठित भएर अगाडि बढ्नुपर्ने पनि धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा सयौं सिंगापुर गोर्खा पुलिसहरुको उपस्थिति रहेको थियो ।